फेवातालको क्षेत्रफल १२ हजार ४६८ रोपनी

आइतबार, १९ जेठ, २०८२
डिजिटल संस्करण

पछिल्लो सीमांकन तथा नक्सांकनपछि तालको क्षेत्रफल एक हजार दुई सय १३ रोपनी बढ्यो, पोल गाड्न सुरू

पोखरास्थित फेवातालको क्षेत्रफल १२ हजार चार सय ६८ रोपनी कायम भएको छ । तालको सिमाना यकिन गर्न जिपिएस र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरी तयार प्रतिवेदनमा फेवातालको क्षेत्रफल १२ सय रोपनी बढेको पोखरा महानगरपालिका नापी शाखा प्रमुख सर्वेक्षक वासुदेव पौडेलले बताए । सर्वेक्षणका क्रममा २५ वटा मुख्य आधार विन्दुमा ४० सेमि उचाइका पिलर जमिनमुनि गाडिएको र त्यसकै आधारमा पाँच हजार नियन्त्रण बिन्दु कायम गर्दै फेवातालको ताल घर र ६५ मिटरभित्रको क्षेत्रसमेत यकिन गरिएको उनको भनाइ छ ।

सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षको रेकर्ड, विभिन्न समयमा बनेका फेवातालका नक्साको अध्ययनपछि तालमा पानीको उच्चतम बहाव÷सतह ७५४.९५ मिटर कायम गरिएको र सोही विन्दुलाई हाइफ्लड लेभल आधार मान्दा तालको तालघर ६ हजार ३४३ वर्गमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आएको पौडेलले बताए ।

यसअघि पुण्यप्रसाद पौडेल संयोजकत्वको फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले तालको क्षेत्रफल पाँच हजार ७२६ वर्गमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना १ पैसा कायम गरिएको थियो । ६ वर्षपछि गरिएको नयाँ नापजाँचपछि तालको तालघर ६ हजार ३४३ वर्गमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आएको हो । पछिल्लो सीमांकन तथा नक्सांकनपछि तालको क्षेत्रफल एक हजार दुई सय १३ रोपनी बढेको हो । 

तालघरको सिमाना यकिनपछि सर्वोच्च अदालतले तोकेको ६५ मिटरसमेतको तालको कुल क्षेत्रफल भने ७६१६ वर्गमिटर अर्थात् १४ हजार ५७० रोपनी ५ आना २ दाम हुन आएको छ । तालघरभित्रको सिमाना छाडेर तालघरबाहिर अर्थात् तालघर सिमानादेखि ६५ मिटरभित्र पर्ने जग्गाको क्षेत्रफल दुई हजार ५०२ रोपनी ५ आना छ ।

पोखराको फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले ४ असार ०८० मा जारी गरेको उत्प्रेषणयुक्त परमादेशअनुसार तालघरको सिमाना यकिन गरी पोल गाड्न सुरु गरिएको छ । फेवातालको उच्च बहावको विन्दु कायम गरी पोल गाड्न थालिएको हो । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाराहीघाटमा एक नम्बर पोल गाडेर कार्यक्रमको सुरुवात गरेका छन् । 

पोखरा महानगरका मेयर धनराज आचार्यले दुई नम्बर र संघ सरकारको प्रतिनिधि एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले तेस्रो नम्बरको पोल गाडेका थिए । शनिबार सातवटा पोल गाडिएको छ । 

तालघरको सिमाना यकिन गर्न जिपिएस र ड्रोन सर्भेमार्फत डिटेल सर्वेक्षणको क्रममा तालघरभित्र एक हजार ५५ वटा डिजिटल पोल गाडिएको र सोही स्थानमा शनिबारदेखि भौतिक रूपमा पोल गाड्न सुरु भएको र एक हजार ५५ वटा पोल गाडिने पौडेलले बताए । 

यसअघि १६ वैशाख ०७५ मा सर्वोच्चले फेवाताल किनारको ६५ मिटरभित्र कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्न निर्देशनात्मक आदेश दिँदै तालको मापदण्ड ६ महिनाभित्र तोक्न भनेको थियो ।

पोल गाडेपछि दोस्रो चरणमा जग्गाको अवस्था अध्ययन गरिने 
फैसला कार्यान्वयन सहजीकरण समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री पाण्डेले अदालतको आदेशअनुसार तालको संरक्षण सुरु भएको बताए । तालघरमा पोल गाड्ने काम सम्पन्न गरेर जग्गाको अवस्था अध्ययन गर्ने उनको भनाइ छ । अध्ययनपछि मुआब्जा दिनुपर्ने–नपर्ने, दूषित दर्ता, ३१ साल अघिपछिको दर्ता, भौतिक संरचनाको अवस्थालगायत यकिन गर्ने पाण्डेले बताए । सर्वोच्चले ०३१ भन्दा अघि दर्ता भएर तिरो तिरेको जग्गाको मुआब्जा दिने र त्यसपछि दर्ता भएका जग्गा खारेज गरी तालको नाममा ल्याउन आदेश गरेकाले पोल गाड्ने काम सकिएपछि सोहीअनुसार अघि बढ्ने उनले बताए । तालमा पोल गाड्ने अभियान सुरुसँगै स्थानीयले विरोध गरेका थिए । स्थानीयसँग समन्वय नगरी काम अघि बढाएको भन्दै उनीहरूले नाराबाजी गरेका हुन् । स्थानीयको विरोधपछि शनिबार पोल गाड्ने कामसमेत रोकिएको थियो ।
 

See More On

सुझावित समाचार