पोखरामा प्रभु बैंकको ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’

बिहिबार, २८ चैत, २०८१
डिजिटल संस्करण

प्रभु बैंकले पोखरामा ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ । उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुर्याउनुका साथै वित्तीय पहुँचमा सहजता ल्याउने उद्देश्यसहित बैंकले गण्डकी प्रदेशका लघु तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी उक्त हब स्थापना गरेको हो । हब स्थापनासँगै व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), वित्तीय परामर्श सेवा, द्रुत तथा प्रभावकारी कागजी प्रक्रियालगायतका सुविधा प्राप्त हुने बताइएको छ । 

बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हबको उद्घाटन गर्दै गण्डकीमा ग्राहकलाई थप सशक्त सेवा प्रदान गर्न हब स्थापना गरिएको बताए । हबमार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । विशेष गरी लघु, साना तथा मझौला उद्यमलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा सञ्चालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्ने रानाको भनाइ छ । 

हबले घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्यलगायतका आवश्यकताका लागि विविध ऋण योजना उपलब्ध गराउनेछ । साथै, वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बैंकले जनाएको छ । 

सुझावित समाचार