विगतका सहमतिमा सरकार गम्भीर नभएको आरोप, एसइईलगत्तै आन्दोलन चर्काउने तयारी

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

एक सातादेखि धर्नामा शिक्षक

सरकारले जनाएको प्रतिबद्धताअनुसार नै विद्यालय शिक्षा विधेयक अघि बढ्नेमा शिक्षकहरूले आशंका गरेका छन् । सहमति गरेको डेढ वर्ष बितिसक्दा विद्यालय शिक्षा विधेयक अघि नबढेको र शिक्षकसँगका सहमतिमा सरकार गम्भीर नभएको उनीहरूको आरोप छ । 

आफूहरूसँग भएका सहमति कार्यान्वयन गर्दै विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्‍याउनुपर्ने भन्दै एक सातादेखि उनीहरूले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रांगणमा धर्ना दिइरहेका छन् । धर्ना १५ चैतसम्म कायम रहने र त्यसपछि आन्दोलनका गतिविधि थप चर्काउने शिक्षक महासंघको तयारी छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएपछि आन्दोलन चर्काउने चेतावनी दिएका उनीहरूले २० चैतदेखि काठमाडौंकेन्द्रित आन्दोलन थाल्ने भएका छन् ।

शिक्षकहरूले माइतीघर मण्डला हुँदै ठुला दलका पार्टी कार्यालयमा प्रदर्शन र धर्नासमेत दिएका थिए । नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको धर्नामा मंगलबार पाँच सयको संख्यामा शिक्षकहरू सहभागी भएका थिए । शिक्षकहरू बिहानैदेखि केन्द्रको प्रांगणमा रिले अनशन र धर्ना बस्ने गरेका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन हुने आशंका देखिएकाले दबाब दिन फेरि आन्दोलनका कार्यक्रम अघि सारिएको बताए । ‘हामीसँग यसअघि भएका भद्र सहमतिअनुसार छिटोभन्दा छिटो विद्यालय शिक्षा विधेयक आउनुपर्छ भन्ने माग हो,’ उनले भने, ‘यो हाम्रो आन्दोलनको एउटा स्वरूप हो, यदि माग सुनिएन र विद्यालय शिक्षा विधेयक अघि बढेन भने आन्दोलन चर्काउँछौँ ।’ शिक्षकहरू एक सातायता बिहान ९ देखि बेलुकी ६ बजेसम्म केन्द्रको प्रांगणमा अनशन बस्दै आएका छन् । महासंघका अध्यक्ष सुवेदीले रिले अनशन १५ चैतसम्म जारी रहने र त्यसपछि थप दबाबका कार्यक्रम तय भइसकेको बताए । 

सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रांगणमा शिक्षकको धर्ना । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

नेपाल शिक्षक महासंघको नेतृत्वमा पछिल्लोपटक १७ फागुनदेखि देशभरका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा थिए । उनीहरूले २० चैतदेखि बृहत् धर्ना र आन्दोलनका कार्यक्रम गर्ने तयारीसमेत गरिसकेका छन् । यसअघि ०८० असोजमा शिक्षकको आन्दोलनले काठमाडौंका सडक तताएको थियो । त्यतिवेला देशैभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । एक सातासम्म काठमाडौंकेन्द्रित आन्दोलन चर्किएपछि ५ असोज ०८० मा भएको वार्तामा सरकारका तर्फबाट तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, तत्कालीन शिक्षामन्त्री अशोक राई, नेपाल शिक्षक महासंघ, राजनीतिक दलनिकट शिक्षक संघ–संगठन र स्वतन्त्र शिक्षक प्रतिनिधिबिच शिक्षकका माग सम्बोधन गर्ने सहमति बनेको थियो । 

शिक्षकहरूले मुख्यतः २७ भदौ ०८० मा प्रतिनिधिसभामा पेस विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति नै आपत्ति जनाएका छन् । तत्कालीन समयमा शिक्षामन्त्री राईले सो विधेयक प्रतिनिधिसभामा पेस गरेका थिए । तर, सो विधेयकमा थुप्रै त्रुटि रहेकाले शिक्षकहरूको आन्दोलन चर्किएपछि ५ असोज ०८० सरकारसँग वार्ता गरेर शिक्षकमा काम पूरा गर्ने समहति भएको थियो । तर, उक्त सहमतिको अवस्थाबारे शिक्षकहरू नै जानकार छैनन् । विद्यालय शिक्षा विधेयक पनि अहिले संसद्को शिक्षा समितिमा छलफलकै क्रममा छ । हाल समितिले सातै प्रदेशमा सुझाव संकलन गरी त्यसलाई एकीकृत गर्ने कार्य भइरहेको छ । 

हाल देशभर कक्षा १२ सम्मका निजी र सरकारी सबै शिक्षक कर्मचारीको संख्या झन्डै चार लाख २० हजार छ । यीमध्ये अधिकांश शिक्षक ट्रेड युनियनमा आबद्ध छन् । नेपाल शिक्षक महासंघका अनुसार हाल कांग्रेसनिकट नेपाल शिक्षक संघमा ९० हजार, एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनमा ८० हजार र माओवादीनिकट अखिल नेपाल शिक्षक संघमा ५० हजार शिक्षक आबद्ध छन् । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूका मागअनुसार नै विधेयक अघि बढिरहेको बताए । ‘शिक्षकहरूले दबाब दिइरहनुभएको छ, मन्त्रालय शिक्षकका मागलाई उचित स्थानमा राख्दै अघि बढेको छ, अब आउने ऐनमा शिक्षकहरू अन्यायमा पर्नुहुन्न भन्ने विश्वास दिलाउन चाहन्छौँ,’ उनले भने ।

यस्तो थियो ५ असोज ०८० मा शिक्षकसँग भएको सहमति

  • साबिक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एकपटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने ।
  • शिक्षकको १०–१० वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने । माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने ।
  • विस्थापित भएको मितिबाट पुनर्बहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवा अवधि निवृत्तिभरण वा उपदान वा अन्य सुविधा प्रयोजनका लागि गणना गर्ने ।
  • शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारबाही र सजायसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने ।
  • शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि अपुग हुने अवधि निजको अस्थायी सेवा अवधिबाट गणना गर्ने । 
  • योगदानमा आधारित निवृत्तिभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भएसरह व्यवस्था गर्ने ।
  • विगतमा निम्न माध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको पद समायोजन गर्ने ।
  • विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता, महँगी भत्ता तथा ग्रेड वृद्धि तथा समायोजनलगायत सुविधा समावेश गर्ने ।
  • सार्वजनिक विद्यालयको व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी संख्या निर्धारण गरी संरचना तोक्ने ।
  • सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने ।
  • न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायत सुविधा र सरकारी निकायमा अभिलेख व्यवस्थापन गर्ने ।
  • संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका विषयमा संयन्त्र बनाउने र संयन्त्रमा शिक्षक तथा कर्मचारीको पेसागत संस्थाको प्रतिनिधित्व गराउने ।
  • शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने ।
  • सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने । 
  • कार्यसम्पादन मूल्यांकन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको संयोजकत्वमा र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नेलगायत ।

सुझावित समाचार