चर्च ब्वाइजले टाइब्रेकरमा हरायो पुलिसलाई

सोमबार, ११ चैत, २०८१
डिजिटल संस्करण

‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २३औँ तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । देवीनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई टाइब्रकेरमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा चर्च ब्वाइजका अमन लामा, चेतन चौधरी, अर्मान्ड बेएडुम र प्रवेश कुँवरले गोल गरे ।

कप्तान सेर्गे डिका र आकाश राईको प्रहारलाई पुलिसका गोलरक्षक अमित टमाटाले बचाए । पुलिसका विवेक पाण्डे, मानबहादुर परियार र ओसेन्द्र कटुवालले गोल गर्न सकेनन् । विवेक र ओसेन्द्रको प्रहार क्रसबारभन्दा माथि गएको थियो । पुलिसका प्रज्ज्वल चौधरी, गोलरक्षक अमित र अरुण गाहाले मात्रै गोल गरे । चर्च ब्वाइजले फाइनलमा स्थान बनाउन मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लबबिचको विजेतासँग खेल्नेछ । 

यसअघि एपिएफले आयोजक रुपन्देही ११ लाई १–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको थियो । एपिएफ र रुपन्देहीबिचको खेल शनिबार खराब मौसमका कारण स्थगित भएको थियो । खेल रोकिनुअघि ६५ मिनेटमा एपिएफ १–० ले अगाडि थियो । सोमबार ६५ मिनेटबाटै सुरु भएको खेलमा थप गोल नहुँदा एपिएफले बाजी मार्यो । एपिएफलाई जित दिलाउन एक मात्र गोल हरि कार्कीले खेलको १८औँ मिनेटमा गरेका थिए । 

सुझावित समाचार