स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले भरियालाई मात्र समात्ने गरेको भन्दै मालिक समात्न चुनौती दिएका छन्।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा टोखाको झोरबाट बरामद भएको २५ करोडको प्रसंगमा सांसद सिंहले भने, ‘जहिले पनि हामी भरिया समात्छौँ, मालिक समात्दैनौँ। सभामुखमार्फत सरकारलाई मेरो अनुरोध छ– मालिक समातेर देखाउनुस् । २५ करोड कुनै भरियाको हुँदैन।’
विभिन्न समयमा ठुलो परिमाणमा तस्करीको सुन पक्राउ पर्ने गरेको भए पनि त्यसको अध्ययन प्रतिवेदन गुपचुप राख्ने गरिएको भन्दै सांसद सिंहले आपत्ति जनाए। उनले भने, ‘रिपोर्ट बन्छ, रिपोर्टमा तालाचाबी लगाएर सरकारले साँचो आफूसँग राख्छ, रिपोर्ट पब्लिक हुँदैन।’
सरकार सार्वभौम नहुने भन्दै उनले सार्वभौम संसद्लाई सुन काण्डहरूबारे जानकारी गराउन माग गर्दै भने, ‘ती सुन काण्डहरूको रिपोर्ट कहाँ छ, सदनमा टेबुल होस्।’