त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री एकदिवसीय (पिएम) कप क्रिकेट प्रतियोगितामा लगातार चौथो जित दर्ता गरेको छ । सिद्धार्थनगरमा शनिबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई सात विकेटले हराएको हो । जितले पनि आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लन सकेन । अर्को विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लेको छ । आर्मी र पुलिसले समान चार खेलबाट आठ अंक जोडेका छन् । तर, रनरेटमा आर्मी दोस्रो स्थानमा झरेको हो ।
कोशीमाथि सानदार जित निकाल्दा आर्मीका ओपनर तृतराज दासले शतकीय योगदान दिएका थिए । पहिलो ब्याटिङ गरेको कोशीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । प्रत्युत्तरमा आर्मीले ४७.१ ओभरमा तीन विकेट गुमाएर २३१ रन जोडेको थियो । तृतराजले १३९ बलमा ११२ रनको योगदान दिए । उनले आफ्नो शतकीय इनिङ्समा १४ चौका र एक छक्का प्रहार गरेका थिए । उनले बसिर अहमदसँग चौथो विकेटका लागि अविजित १२० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।
आर्मीको ब्याटिङमा बसिरले ६२ बलमा ६ चौकाको सहयोगमा ६१ रन जोडे । कप्तान विनोद भण्डारीले ४८ बलमा २७ रन बनाए । यसअघिको ब्याटिङमा कोशीका सुभन गहतराजले ५७ बलमा सात चौकाको सहयोगमा ५१ रनको योगदान दिएका थिए । यसैगरी, मध्यक्रमका सुजन थपलियाले ५४ बलमा ४२ रन तथा सोनु अन्सारीले ७४ बलमा ४४ रन जोडेका थिए । सुजनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । सोनुले चार चौका प्रहार गरे । सन्दीप ढुंगानाले १५ बलमा समान एक चौका र छक्का प्रहार गरी २१ रन जोडे । बलिङको क्रममा सोमपाल कामीले ३७ रनमा चार विकेट लिए । आकाश चन्दले ५.३ ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । सहाव आलमले १० ओभरमा ४६ रन दिँदै दुई विकेट हात पारे । कोशीले चारै खेल गुमाएको छ । कोशी तालिकाको पुछारमा छ ।
पुलिस १९३ रनले विजयी
प्रतियोगिताअन्तर्गत १७औँ खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । लमहीमा भएको खेलमा पुलिस ४९.५ ओभरमा २८८ रनमा अलआउट भयो । प्रत्युत्तरमा मधेश २६.१ ओभरमा ९५ रनमा समेटिँदा पुलिसले सानदार जित निकालेको हो । पुलिसको जितमा पुनः एकपटक स्पिनर ललितनारायण राजवंशीले घातक बलिङ गरेका थिए । उनले २८ रन खर्चेर पाँच विकेट हात पारेका थिए । यसअघि उनले नेपाल एपिएफविरुद्ध १८ रन खर्चेर ६ विकेट हात पारेका थिए ।
पुलिसको ब्याटिङमा ओपनर अर्जुन साउदले ७३ बलमा सात चौकाको सहयोगमा ४७ रन जोडे । दिलीप नाथले ७० बलमा ४५ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । यसैगरी, आरिफ सेख र कप्तान दीपेन्द्रसिंह ऐरीले मध्यक्रम ब्याटिङ बलियो बनाए । दीपेन्द्रले ३६ बलमा चार छक्का र पाँच चौकाको सहयोगमा ६३ रनको योगदान दिए ।
सेखले ५४ बलमा चार चौका र एक छक्का प्रहार गरी ५५ रन बनाए । मधेशका रूपेश सिंहले ६२ रन खर्चेर चार विकेट लिए । मधेशको ब्याटिङमा दीपेश दासले दुई चौका र एक छक्का प्रहार गरी सर्वाधिक ३१ रनको योगदान दिए ।