प्रधानमन्त्री कप : आर्मी १२७ रनको फराकिलो अन्तरले विजयी

शुक्रबार, १ चैत, २०८१
डिजिटल संस्करण
प्रधानमन्त्री कप : आर्मी १२७ रनको फराकिलो अन्तरले विजयी

कर्णाली प्रदेशविरुद्ध ५० रन पूरा गरेपछि आर्मीका कप्तान विनोद भण्डारी

आर्मीले दिएको २६३ रन पछ्याएको कर्णालीले ३७.१ ओभरमा सबै विकेट गुमाएर १३५ रन जोड्यो

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १२७ रनको सानदार जित निकालेको छ । सिद्धार्थनगरमा बिहीबार भएको खेलमा आर्मीले पहिलो ब्याटिङ गरी ५० ओभरमा नौ विकेट गुमाएर २६२ रन बनाएको थियो । प्रत्युत्तरमा कर्णालीले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा १३५ रन मात्र जोडेको थियो । प्रधानमन्त्री कपमा आर्मीको यो लगातार तेस्रो जित हो । 

६ अंकका साथ आर्मी शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एपिएफले दुई खेलबाट ४ अंक जोडेको छ । राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ । पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । कर्णालीले लगातार तीन खेल गुमाएको छ । कर्णालीविरुद्ध आर्मीका दुई खेलाडीले अर्धशतकीय इनिङ्स खेले । तृतराज दासले सर्वाधिक ६९ तथा कप्तान विनोद भण्डारीले ५६ रनको योगदान दिए । 

तृतराजले ८४ बलमा १० चौका र विनोदले ६४ बलमा दुई छक्का र चार चौका प्रहार गरे । यसैगरी भीम सार्कीले ७२ बलमा ४० तथा बसिर अहमेदले ३६ बलमा ३६ रन बनाए । कर्णालीको बलिङमा दिनेश अधिकारीले ७४ रनमा तीन विकेट तथा प्रकाश जैसीले ६४ रनमा चार विकेट हात पारे । 

आर्मीको कसिलो बलिङ
२६३ रन पछ्याएको कर्णालीले आर्मीको कसिलो बलिङको सामना गर्न सकेन । सो ब्याटिङ इनिङ्समा प्रकाश जैसीले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले ७२ बलमा चार छक्का र दुई चौका प्रहार गरेका थिए । दसौँ क्रमका खेलाडी दिनेश अधिकारीले २५ बलमा समान दुई चौका र छक्का प्रहार गरी २२ रन बनाए । आर्मीको बलिङमा सोमपाल कामीले ६ ओभरमा ११ रन खर्चेर दुई विकेट लिए । आकाश चन्दले ४८ रनमा दुई विकेट हात पारे । सहाव आलामले १० ओभरमा दुई मेडन राखी २८ रन खर्चेर तीन विकेट लिए । यसैगरी कुशल मल्लले ४.१ ओभरमा १७ रन खर्चेर दुई विकेट लिए । 

लुम्बिनीको दोस्रो जित
लुम्बिनी प्रदेशले दोस्रो जित निकालेको छ । लुम्बिनीले गण्डकीमाथि १४ रनको जित निकालेको हो । पहिलो ब्याटिङ गरेको लुम्बिनी ४९.५ ओभरमा २१७ रनमा समेटियो । प्रत्युत्तरमा गण्डकीले ५० ओभरमा नौ विकेट गुमाएर २०३ रन जोडेको थियो । लुम्बिनीका निर्मल गुरुङले ३१ रन खर्चेर तीन विकेट लिए । गण्डकीको ब्याटिङमा ओपनर अर्जुन कुमालले ८७ बलमा ६२ रन तथा सुभाष भण्डारीले ३० रनको योगदान दिए । गण्डकीको ब्याटिङमा प्रज्वल थापाले सर्वाधिक ७२ रनको योगदान दिए । उनले ७९ बलमा सात चौका र एक छक्का प्रहार गरे । ओपनर मिर्नाल गुरुङले ६२ बलमा ३८ तथा मनीष थापाले ३४ बलमा २४ रन जोडे । कप्तान देव खनालले ४६ बलमा ३३ तथा विप्रसन केसीले २५ रनको योगदान दिए ।

सुझावित समाचार