तेस्रो नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत क्याटगरी ‘सी’का खेलाडी अनुबन्धनका लागि ड्राफ्ट सकिएको छ । एनएसएलमा सहभागी सात फ्रेन्चाइज टोलीले आइतबार भएको ड्राफ्टबाट २७ खेलाडी भित्र्याएका छन् । एनएसएलले ‘ड्राफ्ट’का लागि अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सहकार्य गरेको हो । सहभागी ६ टोलीले समान चार खेलाडीलाई आबद्ध गरेका छन् । तर, पोखराले तीन खेलाडी भित्र्याएको छ ।
पोखराले एक खेलाडीलाई रिटेन गरेको एनएसएलले जनाएको छ । ड्राफ्टमा ९४ खेलाडी ‘सी’ क्याटगरीमा राखिएको आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले जनाएको छ । यो क्याटगरीमा टोलीले खेलाडी भित्र्याउन औसत एक लाखदेखि एक लाख ५० हजार रुपैयाँ खर्चिनुपर्छ ।
तेस्रो संस्करणमा साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउनेछन् । आर्थिक अभावका कारण वीरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम मेची एफसीले सहभागिता जनाउनेछैनन् ।
