हिउँदेयामको अन्तिम दिन हिमपात र वर्षा

काठमाडौंको सहरी क्षेत्रमा चार महिनापछि वर्षा

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण
हिउँदेयामको अन्तिम दिन हिमपात र वर्षा

शुक्रबार रारामा परेको हिमपात

हिउँदेयामको अन्तिम दिन शुक्रबार देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको छ । एकसाथ धेरै ठाउँमा वर्षा र हिमपात भएको यो हिउँदको पहिलो घटना हो । २४ घण्टामा सबैभन्दा बढी कालिकोटको रासकोटमा ६६.२ मिलिमिटर पानी परेको छ । 

शुक्रबार पश्चिममा सुदूरपश्चिमदेखि गण्डकीका पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षा भएको छ । पूर्वमा संखुवासभासम्मका विभिन्न ठाउँमा पनि वर्षा भएको छ । पूर्वमा संखुवासभामा ८.२ मिलिमिटर पानी परेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात भएको छ । शुक्रबार राति मध्य र पूर्वी क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको छ । तर, सुदूरपश्चिमको तराई भेगमा वर्षा भए पनि अन्य क्षेत्रको तराई भाग भने सुक्खा नै रह्यो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमको तुलनामा पूर्वमा कम पानी परेको छ । ‘धेरै क्षेत्रमा एकसाथ पानी र हिमपात यो हिउँदको पहिलो र अन्तिम शुक्रबार रह्यो,’ उनले भने, ‘शुक्रबारको तुलनामा शनिबार कम वर्षा हुन्छ, आइतबारबाट सुधार हुन्छ ।’

काठमाडौंको सहरी क्षेत्रमा चार महिनापछि वर्षा
काठमाडौंको सहरी क्षेत्रमा चार महिनापछि वर्षा रेकर्ड भएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्टेसनमा पछिल्लोपटक २० कात्तिकमा ८.२ मिमि वर्षा मापन भएको थियो । शुक्रबार राति कीर्तिपुरमा १.४ र साँखुमा एक मिमि वर्षा मापन भएको छ । यद्यपि, यसअघि हिउँदमा उपत्यकाका माथिल्लो भेगमा भने फाटफुट वर्षा रेकर्ड भएको थियो । 

सुदूरपश्चिममा वर्षा र हिमपात
हिउँदयाम सकिने वेला सुदूरपश्चिमका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । चार जिल्लामा पर्ने खप्तड क्षेत्र तथा दार्चुला र बैतडीका उच्च हिमाली भेगमा बिहीबार रातिबाट हिमपात भएको हो । त्यस्तै, डोटी, डडेल्धुरा, बाजुरालगायत जिल्लामा वर्षा भएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमेको खप्तड प्रवेशद्वारका रूपमा रहेको डोटीको झिग्रानाका होटेल व्यवसायी दीपकबहादुर खड्काले बताए । झिग्रानाभन्दा माथिल्लो भेगमा हिमपात भएको उनले बताए । 

‘एक–डेढ फिटसम्म हिउँ जमेको छ । डाँडाहरू सेताम्य भएका छन्,’ खड्काले भने, ‘झिग्रानाबाट हिजो आठजनाको टोली खप्तडका लागि हिँडेको थियो । उनीहरू माथि होटेलमा बसेका होलान् ।’ झिग्रानामा खप्तड होमस्टे सञ्चालन गरिरहेका उनले हिमपातका कारण अहिले खप्तड प्रवेश गर्न सक्ने अवस्था नरहेको बताए ।

खप्तडमा वैशाखसम्मै हिमपात हुने गर्छ । यसपालि भने खप्तडमा विगतको तुलनामा कम हिमपात भएको स्थानीयले बताएका छन् ।

दार्चुलाको अपिहिमाल र व्यास गाउँ पालिकाका विभिन्न क्षेत्रमा हिमतपात भएको छ । व्यास गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत चन्द्रसिंह कुँवरले वडा नम्बर १ को छाङरु, टिंकर, राप्लालगायत क्षेत्रमा हिमपात भएको बताए । उनले तल्लो क्षेत्रमा शुक्रबार रातिबाट निरन्तर वर्षा भइरहेको जानकारी दिए । ‘माथिल्लो भेगमा हिमपात भएको छ । वर्षाले ग्रामीण सडकमा गाडी चल्न सकेका छैनन्,’ उनले भने, ‘हिमपात भए पनि धेरै चिसो छैन ।’ 

त्यस्तै, बैतडीको खोड्पे, अनारखोली क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षा र हिमपात भएपछि बाली सप्रिने आसले कृषक खुसी भएका छन् ।

वर्षाले पहिरो खसेपछि बैतडी–दार्चुला जोड्ने सडक अवरुद्ध भएको छ । दार्चुलाको महाकाली नगरपालिका– ५ स्थित ठन्याकाठामा पहिरो खसेर यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भएको छ । 

डडेल्धुरामा शुक्रबार रातिबाट पानी परिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए । उनले हिमपात भएको खबर भने नआएको बताए । त्यस्तै, बाजुरामा पनि शुक्रबार रातिबाट वर्षा भएको छ । कैलालीमा भने छिटपुट वर्षा भएको छ । कैलालीमा पछिल्लो २४ घण्टामा ३.१ मिलिमिटर वर्षा मापन गरिएको महाकाली फिल्ड बेसिन कार्यालय अत्तरियाले जनाएको छ ।
 

सुझावित समाचार