जापानका पूर्वप्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्ने व्यक्तिलाई १० वर्षको जेल सजाय

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

जापानका पूर्वप्रधानमन्त्री फुमियो किसिदालाई सन् २०२३ मा पाइप बमले मार्ने प्रयास गरेको आरोपमा बुधबार एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको छ । चुनाव प्रचारका क्रममा घरेलु विस्फोटक पदार्थले गरिएको आक्रमणमा किसिदालाई कुनै क्षति पुगेन । घटनास्थलबाटै २५ वर्षीय आरोपी र्युजी किमुरालाई पक्राउ गरिएको थियो।

पश्चिमी जापानमा भएको यो घटना सन् २०२२ जुलाईमा पूर्वप्रधानमन्त्री सिन्जो आबेको चुनाव प्रचारका क्रममा भएको हत्याको एक वर्ष पनि नबित्दै भएको थियो । वाकायामा जिल्ला अदालतले किमुरालाई हत्याको प्रयास गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको जिजी प्रेस र सार्वजनिक प्रसारक एनएचकेलगायत सञ्चारमाध्यमले बताएका छन् ।

आसाही सिम्बुन दैनिकका अनुसार न्यायाधीशले अदालतमा किमुराले ‘लोकतन्त्रको आधारशिला मानिने निर्वाचन भाषणको स्थलमा यो कार्य गरेको’ बताए   । अभियोजनकर्ताहरूले १५ वर्षको सजायको माग गरेका थिए भने किमुराले उनले किसिदालाई मार्ने अभिप्राय अस्वीकार गरेकाले उनको प्रतिरक्षा टोलीले तीन वर्षसम्म जेल सजायको तर्क गरेको थियो ।

अदालतका प्रवक्ताले तत्काल यी रिपोर्टहरूको पुष्टि गर्न सकेनन् । आक्रमणपछि प्रहरीले किमुराको घरमा गरेको खानतलासीमा शंकास्पद बारुद, पाइपजस्ता वस्तुहरू र औजारहरू फेला परेका थिए ।

एनएचकेका अनुसार सुनुवाइका क्रममा किमुराका वकिलहरूले उनको ‘उद्देश्य (सार्वजनिक) ध्यान आकर्षित गर्नु थियो’ भन्दै उनको आरोप हत्या प्रयास नभई ‘चोट पुर्याउने’ हुनुपर्ने बताए । तथापि, अभियोजकहरूले यो घटनालाई ‘दुर्भावनापूर्ण आतंकवादी कार्य’ भन्दै आक्रमणकारीलाई आफ्नो विस्फोटक घातक भएको थाहा थियो भनी बताएका छन् ।

पहिलेका रिपोर्टहरूका अनुसार किमुराले एकपटक राजनीतिक उम्मेदवारहरूको न्यूनतम उमेर र राष्ट्रिय कार्यालयका लागि उम्मेदवार बन्न कम्तीमा ३० लाख येन (१९,७०० डलर) आवश्यक पर्ने प्रावधानलाई चुनौती दिँदै मुद्दा दायर गरेका थिए ।

जापानी कानुनअनुसार माथिल्लो सदनको चुनावका लागि उम्मेदवारहरू ३० वर्ष वा सोभन्दा माथिको हुनुपर्छ भने संसद्को तल्लो सदनमा उम्मेदवार बन्न न्यूनतम उमेर २५ वर्ष तोकिएको छ ।     

 

सुझावित समाचार