पाठेघरको मुखको क्यान्सरविरुद्ध अभियान : १० देखि १४ वर्षका १७ लाख बालिकालाई विद्यालयमै पुगेर लगाइँदै छ खोप

२२ माघदेखि ६ फागुनसम्म चल्ने अभियानमा ५४ हजार स्वयंसेवक र १५ हजार सुपरिवेक्षक खटिँदै

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

सरकारले विद्यालय तथा स्थानीय स्तरमै पुगेर १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । २२ माघदेखि ६ फागुनसम्म देशव्यापी रूपमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको हो । 

हाल सातै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप पुगिसकेको छ । केन्द्रमा भण्डारण गरिएको खोप लगाउने मितिभन्दा एक साताअघि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय हुँदै पालिकामा पुर्‍याइनेछ । पालिकाले समन्वय गरेर मातहतका विद्यालयमा पठाउनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा ७० करोड पाँच लाख मूल्यको १७ लाख ७० हजार २० डोज खोप ल्याएको हो । १२ करोड हाराहारी बजेट नेपाल सरकारले खर्च गरेको छ भने अन्य गाभीले व्यहोरेको छ । 

डा. अभियान गौतम, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख 
भविष्यमा नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढ्ने देखिन्छ, त्यसैले त्यसको रोकथामका लागि हामीले अहिले एउटा उमेर तह तोकेर खोप कार्यक्रम गर्न लागेका हौँ । विश्वका अन्य देशमा पनि १० देखि १४ वर्षका बालिकामा यो खोपको प्रभावकारिता बढी देखिएको र खोपको कुनै साइडइफेक्ट नभएकाले भरपर्दो छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले २२ माघदेखि ६ फागुनसम्म देशव्यापी रूपमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई एचपिभी खोप दिन लागिएको बताउँदै यसमा कोही छुट्न नहुने बताए । विभागले विद्यालय तथा शिक्षा मन्त्रालयबाट तथ्यांक संकलन गरेर लक्षित छात्राहरूको संख्या यकिन गरेको थियो ।

‘हाल यो खोप विश्वका १४४ मुलुकमा नियमित प्रयोग भइरहेको छ, विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त यो खोप सन् २००६ देखि प्रयोगमा ल्याइएको थियो, भविष्यमा नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढ्ने देखिन्छ, त्यसैले त्यसको रोकथामका लागि हामीले अहिले एउटा उमेर तह तोकेर खोप कार्यक्रम गर्न लागेका हौँ,’ डा. गौतमले भने, ‘खोप जुन उमेर समूहका लागि बनेको हो, सोही उमेर समूहलाई दिँदा प्रभावकारी हुन्छ, यो उमेर समूह भनेको शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा एक्टिभ नहुँदैको अवस्था हो । विद्यालयमै पुगेर लक्षित उमेर समूहका किशोरी नछुट्ने गरी लगाउँछौँ ।’ 

डा. गौतमका अनुसार विश्वमा महिलालाई सबैभन्दा धेरै स्तन क्यान्सर हुन्छ, तर मृत्युदर भने पाठेघरको मुखको क्यान्सरबाट धेरै छ । विश्वका अन्य देशमा पनि १० देखि १४ वर्षका बालिकामा यो खोपको प्रभावकारिता बढी देखिएको र खोपको कुनै साइडइफेक्ट नभएकाले भरपर्दो रहेको डा. गौतमको भनाइ छ । 

खोप कार्यक्रमका लागि केन्द्रबाट स्वास्थ्य सेवा विभागले समन्वय गरेको छ भने हरेक जिल्लाको पालिका हुँदै विद्यालयबाट खोप वितरण गरिँदै छ । लक्षित समूहलाई सो खोपको पहुँचमा ल्याउन देशैभरका निजी र सरकारी विद्यालयलाई शिक्षा मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले परिपत्र गरिसकेको छ । विभागका अनुसार देशभरका निजी र सरकारी गरी १८ हजार नौ सय विद्यालयबाट सो खोप लगाइँदै छ । खोप अभियानका लागि सरकारले ५४ हजार १६० स्वमंसेवक परिचालन गर्दै छ भने १५ हजार ६७५ सुपरिवेक्षक खटिनेछन् । यो अभियानको व्यवस्थापनमा मात्रै तीन करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । 

सरकारले हरेक वर्ष फागुन महिनालाई क्यान्सर स्क्रिनिङ टेस्ट महिनाको रूपमा मनाउने घोषणा गरिसकेको छ । अब हरेक वर्ष फागुन महिनामा एचपिभी खोप लगाइनेछ । यसपटक विश्व क्यान्सर दिवसको अवसर पारेर २२ माघदेखि ठुलो संख्यामा किशोरीहरूलाई खोप लगाउन लागिएको हो । हाल दिन लागिएको खोपको नाम ‘सिकोलिन’ हो जुन चीनले उत्पादन गरेको हो ।

यो खोपले पाठेघरको मुखको क्यान्सरका १६ देखि १८ प्रजातिका भाइरसलाई रोकथाम गर्छ भन्ने उत्पादक कम्पनीको दाबी छ । सिकोलिन खोपलाई विश्व स्वास्थ्य संगठनले नै मान्यता दिइसकेको र विश्वसनीय मानिएकाले खरिद गरिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. गौतमले बताए । विद्यालयमा खोप कार्यक्रम सकिएपछि केही स्वास्थ्य संस्थाबाट पनि खोप दिइनेछ । 

एचपिभी खोप अभियान थाल्नुअघि राष्ट्रिय खोप सल्लाहकार समितिले गत २३ असोजमा स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही आधारमा मन्त्रालयले ८ कात्तिकमा खोप दिने निर्णय गरेको थियो । 

कसरी जोगिने पाठेघरको मुखको क्यान्सरबाट ? 
पाठेघरको क्यान्सरको सबैभन्दा बढी जोखिम उमेर ४०–४५ वर्षलाई मानिन्छ । पाठेघरको क्यान्सरसम्बन्धी विज्ञ डा. सरिता घिमिरे वेलावेलामा चेकजाँच गराउने हो भने यसबाट बच्न सकिने बताउँछिन् । 

कम्तीमा १०–१५ वर्षको अन्तरालमा त्यससँग सम्बन्धित भिआइए, एचपिभी डिएनए टेस्ट, पपसेमियर टेस्ट, पापस्पेयरलगायत टेस्ट गरियो भने पाठेघरको क्यान्सरबारे प्रस्ट हुन्छ । त्यसमध्ये पनि सबैभन्दा भरपर्दो टेस्ट भिआइए नै हो । यो टेस्ट गर्नका लागि विभिन्न स्वास्थ्य संस्थाहरूमा एक हजारदेखि दुई हजारसम्म शुल्क लिने गरिन्छ । 

‘यो रोग ४० वर्षका उमेर समूहलाई बढी देखिएको छ, त्यसैले यो उमेर समूह सचेत हुन जरुरी छ,’ डा. घिमिरेले भनिन्, ‘पाठेघर फालेपछि यो क्यान्सर नहुने भन्ने हुँदैन, छालामा समेत यो फैलिन सक्छ, यो रोग लाग्न नदिन समयसमयमा चेकजाँच गर्ने, प्रोटिनयुक्त खानेकुरा बढी खाने, नियमित स्क्रिनिङ टेस्ट गर्ने, सकेसम्म तीनदेखि पाँच वर्षसम्मको अन्तरालमा चेकजाँच गर्नतिर लागियो भने बच्न सकिन्छ ।’

नेपालका सबै स्वास्थ्य संस्थामा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जाँच भने हुँदैन । सीमित अस्पतालहरूमा मात्रै हुन्छ । सरकारी अस्पतालहरूमध्ये सातै प्रदेशका ठुला अस्पतालमा यसको चेकजाँच हुन्छ । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु), परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (थापाथली), सिभिल अस्पताल (मीनभवन), प्रदेश जनस्वास्थ्य प्रयोगशाला (विराटनगर), प्रदेश जनस्वास्थ्य प्रयोगशाला (जनकपुर), प्रदेश जनस्वास्थ्य प्रयोगशाला (धुलिखेल), प्रदेश जनस्वास्थ्य प्रयोगशाला (बुटवल), प्रदेश जनस्वास्थ्य प्रयोगशाला (पोखरा), प्रदेश जनस्वास्थ्य प्रयोगशाला (सुर्खेत), प्रदेश जनस्वास्थ्य प्रयोगशाला (धनगढी) र धुलिखेल अस्पतालमा जाँच गर्न सकिन्छ । 

काठमाडौंमा मात्रै लगाउँदै छन् एक लाख १० छात्राले खोप 
जिल्लागत रूपमा सबैभन्दा धेरै खोप लगाउने छात्रा काठमाडौंमा छन् । यहाँका एक लाख १० हजार छात्राले यो खोप लगाउनेछन् । काठमाडौंका निजी र सरकारी गरी ४८८ विद्यालयमै पुगेर खोप दिइने जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय प्रमुख डा. वसन्त अधिकारीले खोप कार्यक्रमको सबैजसो तयारी पूरा भइसकेको बताए । ‘हामीले खोप कार्यक्रम सञ्चालनका लागि पालिका तथा विद्यालयलाई प्राविधिक सबैखाले सहयोग गरेका छौँ, त्यसको खर्च पनि हामीले नै गरेका छौँ,’ उनले भने ।

विद्यालयबाहिरका बालिकाले कहाँ लगाउँछन् खोप ?
१० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने भनिए पनि तीमध्ये केही विद्यालयबाहिर रहेको आकलन सरकारको छ । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान तथा नियमित खोपमा एचपिभी खोप सुरुवातसम्बन्धी कार्यसञ्चालन निर्देशिकाअनुसार खोपको शतप्रतिशत कभरेजका लागि वडाभित्रका सबैलाई पायक पर्ने स्थानका विद्यालय (सामुदायिक र संस्थागत)लाई प्राथमिकतामा राखेर खोप केन्द्र निर्धारण हुनेछ ।

तर, विद्यालय नभएका वा कम भएका वडामा आवश्यकताअनुसार खोप केन्द्र हुनेछन् । अभियानको अन्तिम दिन ६ फागुनमा स्वास्थ्य संस्थामा समेत खोप सेवा सञ्चालन हुनेछ । विद्यालयबाहिरका बालिकाले पायक पर्ने खोप केन्द्र तोकिएको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्नेछन् । स्वास्थ्य सेवा विभागका अनुसार देशभरका निजी र सरकारी गरी १८ हजार नौ सय विद्यालयबाट सो खोप लगाइँदै छ । खोप अभियानका लागि सरकारले ५४ हजार १६० स्वयंसेवक परिचालन गर्दै छ भने १५ हजार ६७५ सुपरिवेक्षक खटिनेछन् ।

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाले गुमाउँछन् ज्यान
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण वार्षिक एक हजार ३१३ जनाले ज्यान गुमाउँछन् । यो आधारमा दैनिक चार महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ । त्यस्तै, विभागका अनुसार वार्षिक दुई हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यही डरलाग्दो तथ्यांकलाई न्यूनीकरण गर्न सरकारले खोप अभियान चलाउन लागेको हो । 

विश्वमा हरेक वर्ष पाँच लाख ७५ हजारभन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यो विश्व स्वास्थ्य संगठनको तथ्यांक हो । यो तथ्यांक आगामी सन् २०३० सम्ममा बढेर सात लाख पुग्ने चेतावनी संगठनको छ । त्यसैले विभिन्न मुलुक यसको रोकथामका लागि खोप अभियानमा लागेका छन् । संगठनकै तथ्यांकअनुसार हरेक वर्ष पाठेघरको क्यान्सरका कारण विश्वमा तीन लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ । 

पाठेघरको क्यान्सरसम्बन्धी विज्ञ डा. सरिता घिमिरे वेलावेलामा चेकजाँच गराउने हो भने यसबाट बच्न सकिने बताउँछिन् । ‘यो रोग ४० वर्षका उमेर समूहलाई बढी देखिएको छ, त्यसैले यो उमेर समूह सचेत हुन जरुरी छ,’ डा. घिमिरेले भनिन्, ‘पाठेघर फालेपछि यो क्यान्सर नहुने भन्ने हुँदैन, छालामा समेत यो फैलिन सक्छ, यो रोग लाग्न नदिन समयसमयमा चेकजाँच गर्ने, प्रोटिनयुक्त खानेकुरा बढी खाने, नियमित स्क्रिनिङ टेस्ट गर्ने, सकेसम्म तीनदेखि पाँच वर्षसम्मको अन्तरालमा चेकजाँच गर्नतिर लागियो भने बच्न सकिन्छ ।’

सुझावित समाचार