कांग्रेस र एमालेले बागमतीका सबै जिल्लामा दुईदलीय संयन्त्र निर्माण गर्ने

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

सत्तारूढ दलहरू कांग्रेस र एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा दुईदलीय संयन्त्र निर्माण गर्ने भएका छन् । बागमती प्रदेशस्तरीय दुईदलीय संयन्त्रको आइतबार बसेको पहिलो बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा जिल्लास्तरीय संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा ललितपुरमा बसेको बैठकले सत्तासाझेदार दलहरू कांग्रेस र एमाले सम्मिलित जिल्लास्तरीय दुईदलीय संयन्त्र निर्माण गर्न निर्देशन दिएको हो । 

बैठकमा कांग्रेसका तर्फबाट सभापति बानियाँसँगै बागमती प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता बहादुरसिंह लामा, बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको उपस्थिति रहेको थियो । यस्तै, एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज राजन भट्टराई र बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलको उपस्थिति थियो ।

बैठकले जिल्लास्तरीय संयन्त्र गठनका लागि यथाशीघ्र जिल्ला तहसँग समन्वय गर्ने र एक–एक महिनामा आलोपालो बैठकको संयोजन गर्ने निर्णय गरेको छ । यस्तै, संयन्त्रको बैठक प्रत्येक महिना अनिवार्य बस्ने र आवश्यकता परे थप बैठक र छलफल गर्ने निर्णय गरेको छ ।

यसैगरी, आइतबारको बैठकले दुईदलीय संयन्त्र र बागमती प्रदेशका मन्त्रीहरूको बैठक आगामी ३ मंसिरमा हेटौँडामा बसेर प्रदेश सरकारको एक सय दिनको उपलब्धि पनि सार्वजनिक गर्ने निर्णय भएको छ ।

सुझावित समाचार