मधेशका आठ जिल्लाबाट ४० सडकमानवको उद्धार

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

‘यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नारासहित काँकडभिट्टबाट थालिएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत आठौँ दिन सोमबारसम्म मधेश प्रदेशका विभिन्न ठाउँबाट सडक पेटीमा बेवारिसे जीवन बिताइरहेका ४० जनाको उद्धार गरिएको छ । 

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा सुरु भएको उद्धार यात्राअन्तर्गत सोमबारसम्म मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लाका १३ वटा बजार क्षेत्रबाट ४० जना सडक मानवको उद्धार गरिएको हो । उद्धार गरिएकामा ३० पुरुष र १० महिला रहेको उद्धार यात्रामा सहभागी आश्रमका सचिव सुमन बर्तौलाले जानकारी दिए । उनका अनुसार उद्धार यात्राअन्तर्गत सप्तरीको राजविराज र सप्तकोशीबाट दुई महिलासहित १३, सिराहाको लहान, गोलबजार र मिर्चैयाबाट दुई महिलासहित आठ, धनुषाको मिथिला र क्षिरेश्वरनाथ महेन्द्रनगर र जनकपुरधामबाट आठजनाको उद्धार गरिएको छ । महोत्तरीको बर्दीवासबाट एक, सर्लाहीको हरिवन र बागमतीबाट तीन, रौतहटको चन्द्रपुरबाट चार र पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रबाट तीनजनाको उद्धार गरिएको उनले बताए । मधेश प्रदेशअन्तर्गतका जिल्लामा उद्धार यात्रापछि सोमबार साँझ बागमती प्रदेशको राजधानी हेटौँडा पुगेको टोलीले मंगलबारदेखि बागमती प्रदेशअन्तर्गतका जिल्लाका बजार क्षेत्रका सडकपेटी तथा सार्वजनिक स्थलमा बसिरहेका सडक मानवहरूको उद्धार थालेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । उनका अनुसार मधेशका विभिन्न जिल्लाबाट उद्धार गरिएकालाई धनुषाको जनकपुरधाम, सर्लाही र वीरगन्जस्थित सेवा केन्द्रमा राखिएको छ । 

आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिनाका अनुसार झापाको काँकडभिट्टाबाट गत २८ असोजमा थालिएको राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर जिल्लाका विभिन्न ठाउँबाट नौ महिलासहित ४४ जनाको उद्धार गरिएको छ । २८ कात्तिकसम्म पश्चिमी सीमा जिल्ला कञ्चनपुरसम्म चल्ने राष्ट्रिय उद्धार यात्राअन्तर्गत उदयपुरको बेलकाबाट ६, चौदण्डीगढीबाट सात, त्रियुगाबाट एक र कटारीबाट दुई गरी १६ जनाको उद्धार गरिएको उनले बताए । उद्धार गरिएकामा आठ महिला र आठ पुरुषलाई आश्रमको विराटनगर शाखा पठाइएको छ । कोशी प्रदेशअन्तर्गत झापाको मेचीनगर, बिर्तामोड, कन्काई, शिवसताक्षी र दमकसहित पाँच ठाउँका १२ जनाको उद्धार गरिएको उनले बताए । मोरङको बेलबारी, ग्रामथान र विराटनगर महानगरपालिका क्षेत्रबाट चारजना, सुनसरीको दुहबी, इटहरी र धरानबाट १२ जनाको उद्धार गरिएको छ । 

उद्धारदेखि पारिवारिक पुनर्मिलनसम्म
आश्रमले सात प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्रमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार पछिल्लो १२ वर्षदेखि मानवीयता प्रवद्र्धनमा भूमिका खेल्दै आएको आश्रममा अहिले एक हजार ७२३ जना आश्रित रहेको र चार हजार ४२ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । विभिन्न जिल्लाबाट उद्धार गरी आश्रम लगिएका उपचारपछि निको भएर स्वेच्छाले तीन हजार ४६२ जना बाहिरिएको र ८४९ जनाको सामुदायिक पुनस्र्थापना गरिएको उनले बताए । उनका अनुसार आश्रम स्थापना भएयता १० हजार २४६ जना सडकआश्रित मानवहरूको उद्धारपछि सेवा दिइएको छ । 

See More On

सुझावित समाचार