इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

तेहरानले इजरायलमाथि गरेको मिसाइल आक्रमणले विश्वव्यापी तरंग सिर्जना भएको छ । यस आक्रमणले इजरायल–प्यालेस्टिनी द्वन्द्व मध्यपूर्वभर फैलिन सक्ने डर बढेको छ । यसैलाई मध्यनजर गर्दै अधिकांश शक्ति देशले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् । तेहरानले लेबनानमा हिजबुल्लाहविरुद्ध स्थल आक्रमण गरेको घोषणा गरेकै दिन इरानले इजरायली भूमिमा झन्डै सय ब्यालेस्टिक मिसाइल दागेको छ । इजरायलले इरानी आक्रमणको बदला लिने चेतावनी दिएको छ । इरानमा प्रतिक्रियात्मक आक्रमण गर्ने इजरायली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हागारीले बताए ।

इरान समर्थित हिजबुल्लाह नेता तथा हमास नेता इस्माइल हानियेको हत्याको प्रतिक्रियामा यी आक्रमण भएको इरानको स्पष्टीकरण छ । दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रोपटक हो । मिसाइल आक्रमणपछि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’को निन्दा गरेका छन् । गाजामा प्यालेस्टिनी विद्रोही समूह हमाससँगको युद्धसँगै हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताए । 

अमेरिकासहित अधिकांश पश्चिमी देशले इरानी आक्रमणको विरोध जनाउँदै संयमता अपनाउन आह्वान गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उक्त आक्रमण ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताए । त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा तैनाथ अमेरिकी सेनालाई इरानी आक्रमणबाट इजरायलको रक्षा गर्ने गरी इरानी मिसाइल नष्ट गर्न आदेश दिए । बेरुतमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र तेहरानमा हमासका नेता इस्माइल हानियेको हत्याको प्रतिशोधमा उक्त आक्रमण भएको इरानले जनाएको छ । स्पेनिस विदेशमन्त्री जोस म्यानुएल अल्बेरेसले म्याड्रिडले द्वन्द्व पक्षलाई संयमतासाथ अघि बढी तनाव नियन्त्रण गर्न आह्वान गरेका छन् । जर्मनी विदेशमन्त्री एनालेना बारबकले इजरायलमाथि भएको इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै हिंसा अन्त्य गर्न आग्रह गरेकी छिन् । 

त्यस्तै फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले इजरायलविरुद्ध इरानको आक्रमणको निन्दा गर्दै फ्रान्सले तेहरानको सामना गर्न मध्यपूर्वमा आफ्नो सैन्य स्रोत ‘परिचालन’ गरेको बताएका छन् । बेलायती प्रधानमन्त्री किअर स्टारमरले पनि इरानको आक्रमणको निन्दा गरेका छन् । आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतन्याहुसँगको कुराकानीमा स्टारमरले ‘इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाप्रति बेलायतको दृढ प्रतिबद्धता’ जाहेर गरे ।

See More On

सुझावित समाचार