सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो ।

पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ । पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२.७ मिलिमिटर र मोरङकाे केराबारी क्षेत्रमा ५२.४ मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्वानुमान शाखा प्रमुख रुद्रबहादुर परियारले जानकारी दिए।

उनका अनुसार अहिले पनि सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रका स्थानीयलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख परियारले बताए।

विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बुढी खोला, खेसलियालगायत स–साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू–भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह गरेको हो। 

सुझावित समाचार