कोशी र बागमतीमा भारी वर्षा हुन सक्ने भएकाले सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्रीको निर्देशन

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री लेखकले  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई दृष्टिगत गरी तीनवटै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरूलाई आज निर्देशन दिएका हुन् ।

महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आमनागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ । सोही सन्दर्भमा उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई सतर्क रहन निर्देशन दिएको छु ।’

थप समन्वय र सोसम्बन्धी आवश्यक कामकारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपत् प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए । मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका प्रमुख राजमार्गहरू अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउनसमेत आग्रह गरेका छन्। 

सुझावित समाचार