नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ ।आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र सांसद विनोद चौधरीले संयुक्त रूपमा ट्रमा सेन्टरको शिलान्यास गरेका हुन् ।
१२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण सुरु भएको सेन्टर डेढ बिघाभन्दा बढी क्षेत्रफलमा बन्नेछ । १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालबाट संघीय राजधानीमा उपलब्ध सेवाहरू विस्तार गर्ने प्रयास थालिएको बताए ।
क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मिर्गौलालगायतका उपचारहरूसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए । कार्यक्रममा नवलपरासी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं उद्योगी विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।
चिसापानी अस्पतालमा ट्रमासहितको सुविधासम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने सांसद चौधरीले प्रतिबद्धताअनुसार अहिले ट्रमा सेन्टरले पनि मूर्तरूप लिन लागेको बताए ।