राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीले शिष्टाचार भेट गरेका छन् । दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२औँ सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले आज राष्ट्रपति पौडेलसँग शिष्टचार भेट गरेका हुन्।

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने धारणा व्यक्त गरेका छन् । उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले यस सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् ।

राष्ट्रपतिले भने, ‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शी विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरूको अमूल्य योगदान निरन्तर रूपमा रहनेमा म विश्वस्त छु।’

राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरूसँग यस संस्थाको साझा उद्देश्यहरू प्राप्त गर्न र चुनौतीविरुद्ध सामूहिक रूपमा सामना गर्नका लागि आपसी सहयोग र  सहकार्यलाई अझ सुदृद्ध बनाउन नेपाल प्रतिबद्ध रहने पनि स्पष्ट पारे ।

यसै क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२औँ सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस अवसरमा भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्सलगायतका सार्क मुलुकका निर्वाचन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । रासस
  
 

सुझावित समाचार