भदौ लागेयता सेयर बजार निरन्तर ओरालो

३१ साउनपछि ३०४.८८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार १० अर्बमा खुम्चियो

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

भदौ लागेसँगै लगातार ओरालो लागेको सेयर बजारमापक नेप्से परिसूचक आइतबार पनि घटेको छ। ३१ साउनयता परिसूचक ३०४.८८ अंकले घटेको छ । ३१ साउनमा परिसूचक ३०००.८१ विन्दु पुगेको थियो । त्यसपछि निरन्तरजसो ओरालो लाग्दै आइतबार ५३.६३ अंकले (१.९५ प्रतिशत) घटेर २६९५.९३ विन्दुमा आइपुगेको छ ।

आइतबार पिपुल्स हाइड्रोपावर कम्पनी र माईखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । उपकार लघुवित्त, नेपाल फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा उच्च दरले घटेका छन् । बुद्धभूमि नेपाल, हिमालयन हाइड्रोपावर र माथिल्लो मैलुङ खोलाको सेयर मूल्य ७ प्रतिशतले घटेको छ। 

फाइनान्स समूहको परिसूचक ३.४४ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक २.९८ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक २.३४ प्रतिशतले घटेको छ । जलविद्युत् समूहको परिसूचक २.४ प्रतिशत, माइक्रो फाइनान्सको १.८८ प्रतिशत, जीवन बिमाको १.४४ प्रतिशत र उत्पादनशील तथा प्रशोधन क्षेत्रमा १.८ प्रतिशतले घटेको छ । लगानी समूहको परिसूचक १.३३ प्रतिशत र निर्जीवन बिमाको सेयर मूल्य १.२३ प्रतिशतले घटेको छ। 

१० अर्ब ५१ करोडमा खुम्चियो कारोबार
३१ साउनमा २९ अर्ब ३० करोडसम्मको कारोबार भइरहेकोमा आइतबार घटेर १० अर्ब ५१ करोडमा सीमित भएको छ । सबैभन्दा बढी कारोबार गुडविल फाइनान्सको ५२ करोड ३१ लाखको सेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ४३ लाखको कारोबार भएको छ । नेपाल फाइनान्सको ३३ करोड ३४ लाखको सेयर किनबेच भएको छ । अपि पावर कम्पनीको २६ करोड ७३ लाखको सेयर कारोबार भएको छ भने अरुणभ्याली हाइड्रोपावरको २१ करोड ९० लाखको सेयर कारोबार भएको छ । बजार पुँजीकरण भने ४२ खर्ब ८१ अर्ब कायम भएको छ । 
 

सुझावित समाचार