दक्षिण एसियाली विश्वविद्यालयका प्राध्यापकको जबर्जस्ती ‘अवकाश’को विरोधमा पूर्वविद्यार्थीको खुलापत्र

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

नेपाल र सार्कका अन्य सात मुलुकको साझा विश्वविद्यालय दक्षिण एसियाली विश्वविद्यालयका पूर्वविद्यार्थीले विश्वविद्यालयका संस्थापक संकाय सदस्यमध्येका एक प्राध्यापक शशांक पेरेराको हालैको जबर्जस्ती अवकाशलाई लिएर गहिरो चिन्ता र निराशा व्यक्त गरेका छन्।

विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवाललाई सम्बोधन गर्दै लेखिएको खुलापत्रमा पूर्वविद्यार्थीले प्राध्यापक पेरेरामाथि विश्वविद्यालय प्रशासनले गरेको व्यवहारलाई ‘प्रणालीगत संस्थागत उत्पीडन’ भन्दै आलोचना गरेका छन्।

पूर्वविद्यार्थीले विगत १३ वर्षमा विश्वविद्यालयको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको समाजशास्त्र विभागलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेका प्राध्यापक पेरेरालाई समाज विज्ञानका डिन सञ्जय चतुर्वेदी र समाजशास्त्र विभागका प्रमुख देवनाथ पाठकले दुर्व्यवहार गरेको भन्ने पनि आरोप लगाएका छन्। पूर्वविद्यार्थीले आफ्नो अधिकारका लागि मुखरित हुने संकाय र विद्यार्थीलाई विश्वविद्यालयले नियतवश तारो बनाएको भनेर पत्रमा उल्लेख गरेका छन्। प्राध्यापक पेरेरामाथिको दुर्व्यवहारलाई यही प्रवृत्तिको एक हिस्साका रूपमा हेरिएको छ।

प्राध्यापक पेरेराको हालैको जबर्जस्ती अवकाशलाई उनले सुपरिवेक्षण गरिरहेका एक विद्यावारिधिका शोधकर्ताको शोध प्रबन्ध प्रस्तावसँग जोडिएको छ। सो प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे दार्शनिक नोम चोम्स्कीको विचारलाई उद्धृत गरिएको थियो। चोम्स्कीले मोदीलाई ‘कट्टरपन्थी हिन्दुत्व परम्परा’को प्रतिनिधित्व गरेको भनेका थिए। चोम्स्कीको विचारलाई उद्धृत गर्ने एक सामान्य प्राज्ञिक अभ्यासका लागि विश्वविद्यालयले शोधकर्ताका सुपरिवेक्षक प्राध्यापक पेरेराविरुद्ध कारण देखाउ आदेश दिएर अनुसन्धान थालेको थियो। अनुसन्धान गर्ने विश्वविद्यालयको प्रतिक्रियापछि उनले राजीनामा दिएका थिए।

अन्तर्राष्ट्रिय हैसियतमा रहेको दक्षिण एसियाली विश्वविद्यालयले आफ्नो वैश्विक छविलाई धुमिल पारेको खुलापत्रमा उल्लेख छ। पूर्वविद्यार्थीले विश्वविद्यालयको कदमले भारतीय धर्मनिरपेक्ष लोकतन्त्रका लागि खतरा र प्राज्ञिक स्वतन्त्रताको उल्लंघन भएकोसमेत दाबी गरेका छन्। यसबाहेक पूर्वविद्यार्थीले विद्यावारिधिको शोध समितिका अन्य दुई सदस्यमाथि सोधपुछ नगरी प्राध्यापक पेरेरालाई मात्रै अनुसन्धानका लागि बोलाउनुका कारण उनी गैरभारतीय संकाय भएकाले हुन सक्छ भन्ने आशंका पनि व्यक्त गरेका छन्।

पूर्वविद्यार्थीले प्राज्ञिक स्वतन्त्रता हनन र दुर्व्यवहारका मामिलामा मौनता साँधेको भन्दै दक्षिण एसियाली विश्वविद्यालयको बृहत् प्राज्ञिक समुदायको पनि आलोचना गरेका छन्। खुलापत्रमा पूर्वविद्यार्थीले विश्वविद्यालयका संकाय यो अन्यायका विरुद्ध खडा हुन नसक्दा विश्वविद्यालयको सामाजिक विज्ञानको भविष्यमा गम्भीर खतरामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सुझावित समाचार