१० लाख दिने प्रलोभनमा कोलकाता पुर्‍याएर झिकियो मिर्गौला

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

जबर्जस्ती मिर्गौला बेच्न लगाउने गिरोहका दुई पक्राउ 

आर्थिक प्रलोभनमा पारी जबर्जस्ती मिर्गौला बेचिदिने धन्दामा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– ८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुर भीमफेदी गाउँपालिका– २ की ४२ वर्षीया शान्तिमाया घलान छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले खत्रीलाई आइतबार र घलानलाई मंगलबार पक्राउ गरेको हो । उनीहरूले नुवाकोटका २८ वर्षीय युवालाई १० लाख रुपैयाँ दिने प्रलोभनमा जबर्जस्ती मिर्गौला बेच्न लगाएका थिए । यसका लागि युवालाई भारतको कोलकाता लगिएको थियो । 

पक्राउ परेका दुवैजना सोही धन्दामा संलग्नमध्ये रहेको ब्युरो प्रवक्ता एसपी गौतम मिश्रले बताए । ‘१० लाख रुपैयाँ दिने प्रलोभनमा एक युवालाई जबर्जस्ती मिर्गौला बेच्न लगाएछन् । गिरोहले भारतको कोलकाता पुर्याएर अनेक धाकधम्की दिई युवालाई मिर्गौला बेच्न लगाएछ, तर रकम भने दिएनछ । नेपाल फर्केर पीडितले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ उनले भने ।

ब्युरोका अनुसार पीडित युवाको आर्थिक अवस्था कमजोर छ । दश लाख रुपैयाँ दिने प्रलोभनमा अभियुक्तले युवालाई मिर्गौला बेच्न सहमत गराएका थिए । त्यसपछि युवालाई काठमाडौंबाट सुमो चढाएर वीरगन्ज लगिएको थियो । वीरगन्जबाट रक्सौल हुँदै कोलकाता पुर्याइएको थियो । 

प्रहरीका अनुसार मिर्गौला बेच्न गिरोहका सदस्यले सबै कागाजत नक्कली बनाएका थिए । सोही आधारमा नाता प्रमाणित गरी युवालाई मिर्गौला बेच्न भनेका थिए । तर, कबुल गरेको रकम ‘ट्रान्सप्लान्ट’पछि दिने भनेपछि युवा अस्पतालबाट भागेका थिए । पछि गिरोहका सदस्यले उनलाई समातेर अनेक प्रलोभन दिएका थिए ।

नमानेपछि आफूलाई ज्यान मार्ने धम्की दिएकाले डराई डराई मिर्गौला दिएको उनले प्रहरीलाई बताएका छन् । मिर्गौला ‘ट्रान्सप्लान्ट’पछि युवालाई केही रकम दिएर गिरोहका सदस्यले नेपाल पठाएका थिए । नेपाल आएलगत्तै उनले प्रहरीमा जाहेरी दिएका थिए । गिरोहमा अन्य सदस्य पनि संलग्न रहेको हुँदा खोजीकार्य तीव्र पारिएको ब्युरो प्रवक्ता एसपी मिश्रले बताए ।

सुझावित समाचार