महाधिवेशनको साढे दुई महिनापछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पदाधिकारी र केन्द्रीय कार्यकारिणी कमिटी टुंगो लगाएको छ । यादवपछिको वरीयतामा रहने गरी रकम चेम्जोङ सहअध्यक्ष चयन भएका छन् । राजकिशोर यादव, मृगेन्द्रकुमारसिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत् बज्राचार्य उपाध्यक्ष चयन भएका छन् ।
लालबाबु यादव र रामकुमार शर्माले महासचिवको जिम्मा पाएका छन् । राउत मधेश प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । शर्मा केही समयअघि मात्रै जसपा नेपाल प्रवेश गरेका थिए । प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव उपमहासचिव चयन भएका छन् । मनीष सुमनलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा र कमरुद्दिन राई चयन भएका छन् । सुरिताकुमारी साह कोषाध्यक्ष चयन भएकी छिन् । हरिनारायण यादव, अर्जुन थापा, सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा. कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, जयराम यादव, राजकुमार गुप्ता (राजु), रामकिशोर यादव (किशोरी) केन्द्रीय कार्यकारिणी सदस्य चयन भएका छन् ।
अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोग पनि गठन गरिएको छ । अनुशासन आयोगको अध्यक्षमा जगदेव यादव तथा सदस्यहरूमा विष्णुकुमार लावती, आरसी यादव, कैलाश यादव, नारायणकृष्ण थापा र रामगोविन्द यादव छन् । लेखापरीक्षण आयोगको अध्यक्षमा आङदेण्डी शेर्पा तथा सदस्यमा महेश्वर यादव, उषा कुमारी, धर्मेन्द्र साह र भवानी आङदेम्बे छन् । यस्तै, निर्वाचन आयोगको अध्यक्षमा विश्वनाथ पटेल तथा सदस्यमा धर्मेन्द्र मरवैता, मनोज बर्मा, विमल विश्वकर्मा र ओमकृष्ण श्रेष्ठ चयन भएका छन् ।
भूगोल, समुदाय र लिंग मिलाएर पदाधिकारी चयन गरिएको अध्यक्ष यादवको सचिवालयले दाबी गरेको छ । तर, आधा दर्जन उपाध्यक्ष र दुइटा महासचिवमा पनि महिला पर्न नसकेको भन्दै महिला नेतृत्वहरूले असन्तुष्टि जनाएका छन् । उपमहासचिवमा चयन भएकी रेखा यादवले महिलालाई समेट्ने काम मात्रै भएको बताइन् । ‘मैले महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिएको थिएँ, अहिले उपमहासचिवमा नाम आएछ । त्यस्ता उपाध्यक्ष र महासचिवमा महिला पर्न नहुने कारण बुझ्न सकेको छैन । अध्यक्षसँग कुरा गर्छु,’ उनले भनिन् ।