अस्ट्रेलिया र इंग्ल्यान्ड विश्वकै पुरानो टेस्ट राष्ट्र हुन् । सन् १८७७ मा अस्ट्रेलियामा टेस्ट फम्र्याटको पहिलो खेल भएको थियो । जसमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि जित निकालेको थियो । सन् २०२७ मा टेस्ट खेलको १५० वर्ष पूरा हुनेछ । टेस्ट इतिहास १५० वर्ष पुग्न लागेका अवसरमा यी दुवै राष्ट्रबीच एक खेल हुने भएको छ ।
अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसिजी)मा ऐतिहासिक रूपमा एक मात्र टेस्ट खेल हुने क्रिकेट अफ अस्ट्रेलियाका सिइओ निक हाकले जानकारी दिए । ‘मार्च २०२७ मा इंग्ल्यान्ड र अस्ट्रेलियाबीच एक मात्र टेस्ट हुनेछ । यो टेस्ट फम्र्याट खेल सुरु भएको १५० वर्ष पुगेको उपलक्ष्यमा हुनेछ,’ हाकले भने, ‘विश्वकमा उत्कृष्ट खेलाडीले यस खेललाई उत्सवका रूपमा लिनेछन् ।’
ऐतिहासिक दिनमा इंग्ल्यान्डलाई विशिष्ट पाहुनाका रूपमा बोलाउन आफूहरू आतुर भएको सिइओ हाकले बताए । ‘यद्यपि, टेस्टको डेढ सय वर्ष पूरा हुन तीन वर्ष बाँकी छ । हामी इंग्ल्यान्डका खेलाडीलाई ऐतिहासिक अवसरमा बोलाउन अहिले नै आतुर भएका छौँ,’ उनले भने, ‘एमसिजीको मैदानमा दुवै टोलीका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्नेछन् ।’
इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको टेस्ट सिरिजलाई एसेज भनिन्छ । यो विश्वकै सबैभन्दा पुरानो टेस्ट सिरिज हो । एसेजको रोमाञ्चक पक्ष नै अस्ट्रेलिया इंग्ल्यान्डमा गएर खेल्ने र इंग्ल्यान्ड अस्ट्रेलियामा खेल्ने हो । अस्ट्रेलियाको मेलबर्न मैदानमा यी दुई राष्ट्रबीच पहिलो टेस्ट भएको थियो । ‘टेस्टको पहिलो खेल नै यसै एमसिजी मैदानमा भएको थियो । अब १५० वर्ष पुगेको उपलक्ष्यमा आयोजना हुने ऐतिहासिक टेस्ट पनि यसै मैदानमा हुनेछ,’ सिइओ हाकले भने ।
अस्ट्रेलियालाई ४५ रन लक्की
रमाइलो यो छ कि टेस्ट खेलको सय वर्ष पुग्दा पनि मेलबर्न क्रिकेट मैदानमै खेल आयोजना भएको थियो । सन् १९७७ को ऐतिहासिक टेस्टमा अस्टेलियाबाट इंग्ल्यान्डले ४५ रनले पराजित भएको थियो । यो एउटा संयोग पनि हो । टेस्ट खेलको पहिलो म्याचमा पनि अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ४५ रनको जित निकालेको थियो । ‘अस्ट्रेलियालाई ४५ लक्की रन हो । यही रन अन्तरमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ऐतिहासिक जित दर्ता गरेको थियो,’ हाकले भने, ‘अब १५० वर्ष पुगेको अवसरमा आयोजना हुने टेस्टमा पनि यही रन अन्तरमा जित निस्कियो भने चमत्कार हुनेछ ।’
बक्सिङ डेमा खेल
अस्ट्रेलिया र इंग्ल्यान्डका क्रिकेट बोर्डबीच एउटा सम्झौता भएको छ । सम्झौताअनुसार सात वर्षसम्म प्रत्येक बक्सिङ डेमा मेलबर्न मैदानमा टेस्ट खेल हुनेछ । यति मात्र नभएर नयाँ वर्षमा सिड्नी र क्रिसमसमा एडिलेडमा खेल हुने सम्झौता भएको छ ।