नेपाली आकाश सुरक्षित छैन : सञ्चारमन्त्री गुरुङ

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको संकेत गरेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए।

उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा भएको हेलिकाेप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।

शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेस्टी हेली सर्भिस प्रालिको ९एन–एजेडी कलसाइनको हेलिकाेप्टर दुर्घटना भएको थियो। सो दुर्घनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताए।

‘अहिलेसम्म दुर्घटना हुने। छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो,’ उनले भने, ‘अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ।’

सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ, पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उनले जानकारी दिए। रासस

सुझावित समाचार