यो शताब्दीको अन्त्यसम्ममा चीनको जनसंख्या आधाभन्दा बढीले घट्न सक्ने राष्ट्रसंघको पछिल्लो एक प्रतिवेदनले संकेत गरेको छ । प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा चीनको जनसंख्या अहिलेको भन्दा आधा घट्ने सम्भावना ५० प्रतिशत छ । सन्तान जन्माउने उमेरका महिलाको संख्या घट्नु, युवामाझ ढिलो विवाह र विवाह गरेका जोडीमाझ बच्चा नजन्माउने प्रवृत्तिका कारणले चीनमा जनसंख्या घटिरहेको छ ।
अहिलेको प्रवृत्ति परिवर्तन नहुने हो भने सन् २१०० सम्ममा चीनको जनसंख्या सन् १९५० को दशकको उत्तरार्धको आकारमा फर्किने सम्भावना उच्च छ । राष्ट्रसंघले प्रकाशित गरेको ‘सन् २०२४ को वैश्विक जनसंख्याका सम्भावना’ नामक प्रतिवेदनको सारांशअनुसार २१औँ शताब्दीको अन्त्यमा चीनको जनसंख्या अहिलेको भन्दा ७८.६ करोड कम हुन सक्छ । चीनमा सन् ०२४ देखि ०५४ को बीचको तीस वर्षको अन्तरालमै २० करोड ४० लाख जनसंख्या घट्ने प्रतिवेदनमा भनिएको छ । चीनपछि जापान र रुसमा ठूलो गिरावट देखिनेछ, जहाँ यस अवधिमा क्रमशः २.१ करोड र एक करोड जनसंख्या घट्नेछ । तथापि लामो समयका लागि गरिने जनसंख्या प्रक्षेपण प्रायः सटिक नहुने पनि प्रतिवेदनले सचेत गराएको छ ।
गत वर्ष अप्रिलमा भारतले चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक बनेको थियो । तथापि भारतको सन्दर्भमा जनसंख्यासम्बन्धी तथ्यांक आधिकारिक नभएर अहिलेका लागि प्रक्षेपण मात्र हो । कोरोना भाइरसको कारण देखाउँदै सन् २०२१ मै गर्नुपर्ने जनगणना भारतले हालसम्म गरेको छैन । गत वर्ष चीनको जनसंख्यामा लगातार दोस्रो वर्ष गिरावट देखिएको थियो । यो परिवर्तनपछि सो देशको जनसंख्या अघिल्लो वर्षभन्दा २०.८ लाखले घटेर एक अर्ब ४० करोड ९७ लाख पुगेको छ । चीनमा देखिएको जनसंख्याको ह्रासको मुख्य कारण घट्दो जन्मदर नै हो । सन् २०२३ मा चीनमा ९०.२ लाख मात्रै बच्चा जन्मिए, जुन सन् १९४९ मा रेकर्ड राख्न सुरु भएदेखिको सबैभन्दा न्यून हो ।
सन्तान जन्माउने उमेरका महिलाको संख्या घट्नु, युवामाझ ढिलो विवाह र विवाह गरेका जोडीमा बच्चा नजन्माउने प्रवृत्ति जस्ता कारणले चीनमा जनसंख्या घटिरहेको छ
जनसंख्याविदहरूले कोरोना भाइरस नियन्त्रण गर्न चीनमा लागू कठोर प्रतिबन्ध खुकुलो गरिएकाले र बच्चा जन्माउने सघाउने खालको नीतिको कार्यान्वयन हुनाले आगामी केही वर्ष जन्मदरमा हल्का सुधार हुने अपेक्षा गरेका छन् । तथापि दीर्घकालसम्म यो प्रवृत्ति नरहने उनीहरूको भनाइ छ ।
चीनमा मात्र होइन, प्रजनन् दर विश्वभर नै घटिरहेको छ । अहिले विश्वको औसत प्रजनन दर (देशभरका महिलाले उनको जीवनकालमा जन्माउने बच्चाको औसत संख्या) प्रतिमहिला २.२५ जीवित जन्म छ । जनसंख्याको आकार घट्न नदिई स्थिर राख्न प्रतिमहिला २.१ जीवित जन्म हुनु आवश्यक पर्छ । चीनलगायत विश्वका झन्डै २० प्रतिशत देशहरूको प्रजनन दर २.१ भन्दा तल छ, जसलाई ‘अति न्यून’ प्रजनन दरको संज्ञा दिन थालिएको छ ।
चीनको कुरा गर्ने हो भने त्यहाँको ‘चिनियाँ जनसंख्या तथा विकास अनुसन्धान केन्द्र’को अनुमानअनुसार सन् २०२२ मा चीनको कुल प्रजनन दर १.०९ सम्म तल झरेको थियो । चीनको सबैभन्दा समृद्ध नगरमध्येको एक सांघाईमा त त्योभन्दा कम प्रजनन दर छ, जहाँ सन् २०२३ मा प्रतिमहिलाले जीवनभरमा पाउने बच्चाको संख्या एकभन्दा तल झरेर ०.६ पुगेको सोही महानगरको प्रशासनले जानकारी दिएको छ । जनसंख्याविदहरूले समग्र देशकै कुल प्रजनन दरसमेत सन् २०२३ मा एकभन्दा कम भएको हुन सक्ने प्रक्षेपण गरेका छन् । यद्यपि चीनले गत वर्षका लागि आधिकारिक कुल प्रजनन दर प्रदान गरेको छैन ।
संयुक्त राष्ट्र संघको प्रतिवेदनले अनुमान गरेअनुसार सन् २०२४ मा हङकङ र दक्षिण कोरियाको प्रजनन दर सबैभन्दा कम हुन सक्नेछ । त्यहाँको प्रजनन दर यस वर्षभरमा औसतमा प्रतिमहिला ०.७५ भन्दा कम रहने प्रतिवेदनमा उल्लेख छ । अहिलेको प्रवृत्तिमा उलेख्य बदलाब आएन भने विश्वको जनसंख्या पहिले प्रक्षेपण गरिएभन्दा अगाडि नै यही शताब्दीभित्रै चरमचुलीमा पुग्नेछ । सम्भवतः सन् २०८० को दशकको बीचतिर विश्वको जनसंख्या ८.२ अर्ब पुगेर गिरावट आउने संयुक्त राष्ट्रको अनुमान छ । । ‘सन् २१०० मा विश्वको जनसंख्याको आकार अब पहिले (एक दशकअघि) अनुमान गरिएको भन्दा ६ प्रतिशत कम अथवा संख्यामा भन्दा करिब ७० करोड मानिस थोरै हुने सम्भावना बढेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
विश्वको जनसंख्याको अनुमानित आकारको उच्च बिन्दु पहिले प्रक्षेपण गरिएभन्दा अघि नै हासिल हुनुमा चीनजस्ता ठूला केही ठूला देशमा हालैका वर्षमा देखिएको न्यून प्रजनन दरसहित धेरै कारकको प्रभाव हुनेछ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले फेब्रुअरीमै चीनको जनसंख्या अहिले नै चरम सीमामा पुगेको र सो देशको जनसंख्यामा सन् २०३५ सम्ममा दुई करोड घटेर एक अर्ब ३९ करोड पुग्ने प्रक्षेपण गरेको थियो । घट्दो जन्मदरले चीनको दीर्घकालीन आर्थिक सम्भावनामा धक्का पुर्याउनेछ । साथै यस परिवर्तनले सरकार न्यून अवकाश उमेर बढाउन र रोजगारीमा रोबोटको प्रयोग बढाउन बाध्य हुनेछ ।
– साउथ चाइना मर्निङ पोस्टबाट