केन्द्र सरकारले लोकल रक्सीलाई ब्रान्डका रूपमा विस्तार गर्ने तयारी गरिरहँदा गोरखाको गण्डकी गाउँपालिकाले त्यससम्बन्धी कार्यविधि नै बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाको १५औँ गाउँसभाले घरेलु मदिरा बजारीकरण कार्यविधि (कोदो तथा फलफूलकोे रक्सी उत्पादन, ब्रान्डिङ, बिक्री–वितरण तथा व्यवस्थापन) बहुमतले पारित गर्दै लोकल रक्सीलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
स्थानीयस्तरमा उत्पादन हुने कोदो तथा विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्रान्ड बनाउन सके आम्दानीका साथै स्थानीय पहिचान पनि हुने भएकाले जिल्लामै पहिलो कार्यविधि बनाएर अघि बढेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (साकार)ले बताए । सो गाउँपालिकामा वडा नम्बर ५ मा रानीस्वाँरा मगरात सामुदायिक होमस्टे र वडा नम्बर २ मा पाथीस्वाँरा मनमोहक होमस्टे गरेर दुईवटा होमस्टे छन् । मुख्यतः पर्यटन प्रवद्र्धनका हिसाबले पनि यसले सहयोग पुग्ने उनको भनाइ छ । ‘लेबलिङ, बोटलिङ गरेर सहरतर्फ पनि पुर्याउनुपर्छ भन्ने उद्देश्यमा छाैँ, तर संघीय कानुनले पालिकाबाहिर बिक्री गर्न मिल्दैन । अहिलेलाई गाउँपालिकाभित्र अतिथि सत्कारमा मात्र प्रयोग गर्छौँ । हाम्रो संस्कार र संस्कृतिसँग लोकल रक्सी जोडिएको छ,’ उनले भने, ‘लुकीछिपी प्रयोग गरिरहेकै छन् । बरु गुणस्तर कायम गरेर बजारमै पठाउन सके आम्दानी पनि हुन्छ । स्थानीय परिचय पनि थपिन्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीका अनुसार गण्डकी लोकल रक्सी नाम राखेर बोतल प्याक गर्ने तयारी हुँदै छ । स्टिकर टाँसेर बोतलमा राख्न पहिलो चरणमा गाउँपालिकाले नै आर्थिक सहयोग गरेको छ । यसरी ब्रान्डिङ गर्दा सफा र गुणस्तरीय लोकल रक्सी बनाउन सहयोग पुग्ने उनको विश्वास छ । ‘यहाँ मदिरा बनाउन लोकल जडीबुटीको मात्र प्रयोग हुन्छ,’ उनले भने, ‘रक्सीलाई सकेसम्म उपयोग गर्न नहुने मान्यता गाउँपालिकाले राखेको, तर लोकल उत्पादन र संस्कृतिको सरक्षण गर्नु गाउँपालिकाको पनि दायित्व हो ।’ नेपालको सविधानको अनुसूची ८ ले दिएको अधिकार प्रयोग गरी उक्त ऐन जारी गरिको गाउँपालिकाले जनाएको छ ।
होमस्टेको आकर्षण लोकल रक्सी र खान्की
०७५ साल चैतमा स्थापना भएको रानीस्वाँरा मगरात सामुदायिक होमस्टेमा अर्गानिक खानासँगै लोकल रक्सीलाई प्राथमिकतामा राखिएको छ । होमस्टे सुरु भएदेखि नै यहाँ बाहिरको रक्सी प्रयोगमा प्रतिबन्ध लगाइएको छ । ‘मगर समुदायको मात्र बसोवास रहेको यो ठाउँमा लोकल रक्सी बनाउने पुरानो चलन हो, त्यसलाई हामीले व्यवसायसँग पनि जोडेका हौँ,’ होमस्टेका अध्यक्ष यमबहादुर आलेले भने, ‘हामीले उत्पादन गर्ने रक्सी बजारको भन्दा राम्रो छ भनेर हामी ग्यारेन्टी लिन सक्छौँ ।’