वर्षौँदेखिको राजनीतिक खिचातानीले थलिएको देशकै पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयले वित्तीय अनुशासन पनि गुमाउँदै गएको छ, त्रिविको वार्षिक बजेटभन्दा दुई अर्ब बढी बेरुजु पुगेको छ
देशको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय वित्तीय अनुशासनमा भने कमजोर देखिएको छ । ६५ वर्षे इतिहासमा पछिल्लो वर्ष बेरुजु बढेर २८ अर्ब नाघेको छ । जब कि शैक्षिक सत्र ०८१/८२ का लागि त्रिविको बजेट २६ अर्ब १६ करोड ८७ लाख छ ।
कुलपति तथा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मंगलबार भएको त्रिवि सभामा रजिस्ट्रार प्रा.डा. केदार रिजालले बेरुजु २८ अर्ब ३२ करोड १६ लाख ३९ हजार पुगेको बताए । शैक्षिक सत्र ०८१/८२ को बजेट प्रस्तुत तथा आर्थिक समीक्षा गर्न आह्वान गरिएको सभामा त्रिविलाई बेरुजुबाट मुक्त गर्ने विषयमा पनि छलफल भएको छ ।
महालेखापरीक्षकको ५७औँ वार्षिक प्रतिवेदन (आव ०७५/७६ को)अनुसार त्रिविको बेरुजु २८ अर्ब ६७ करोड १९ लाख ४९ हजार थियो । त्यसपछि त्रिविले रणनीतिक रूपमा बेरुजु घटाउने योजना अघि सारेपछि ५८औँ प्रतिवेदनमा बेरुजु घटेर २४ अर्ब २६ करोड ८७ लाख ८५ हजारमा पुगेको थियो ।
त्यसपछिका वर्ष फेरि बेरुजु उकालो लाग्यो । महालेखाको ५९औँ प्रतिवेदनमा २६ अर्ब ६८ करोड ३९ लाख ५१ हजार र ६०औँ प्रतिवेदनमा बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रहेको उल्लेख छ । पछिल्लो अर्थात् ६१औँ वार्षिक प्रतिवेदनअनुसार त्रिविको बेरुजु २८ अर्ब ३२ करोड १६ लाख ३९ हजार पुगेको छ ।
पछिल्लो समयत्रिवि कार्यकारी परिषद्ले ६ अर्ब बेरुजु सम्परीक्षणका लागि महालेखालाई विवरण पठाइएको थियो । तर, महालेखाले ऐन नै संशोधन गर्नुपर्ने बताउँदै सम्परीक्षण स्थगित गरेको थियो । जसका कारण आर्थिक वर्ष ०७८/७९, ०७९/८० र ०८०/८१ मा कुनै पनि बेरुजु सम्परीक्षणबाट फर्स्योट हुन नसकेको त्रिविका रजिस्ट्रार प्रा.डा. रिजालले बताए । सम्परीक्षण नहुँदा बेरुजु बढ्दै गएको उनको भनाइ छ ।
रजिस्ट्रार प्रा.डा. रिजालका अनुसार महालेखाको प्रतिवेदनले देखाएको बेरुजुमध्ये ७० प्रतिशत नीतिगत र ३० प्रतिशत असुलउपर गर्ने बेरुजु छ । नीतिगत व्यवस्थाविना नै खर्च भएको रकमलाई महालेखाले नीतिगत बेरुजुमा राखेको हुन्छ । कानुनी र नीतिगत सुधार भएमा यस्तो बेरुजु हटाउने गरिन्छ । तर, सम्बन्धित निकायले सुधार नगरे त्यस्तो बेरुजु पनि असुलउपर गर्नुपर्ने बेरुजुमा राखिन्छ ।
त्रिविको ६५ वर्षको अवधिमा थोरै–थोरै बेरुजु थपिएर बढ्दै आइरहेको रजिस्ट्रार रिजालको भनाइ छ । ‘हामीले सिस्टम र नीति फ्लो नगर्दा यस्तो भएको हो, यो भ्रष्टाचार होइन, विधि नजानेर हो, यसलाई बिस्तारै घटाउँदै लैजान्छौँ,’ उनले भने, ‘बेरुजु कम गर्न कर्मचारीलाई जिम्मेवारीसमेत गराएका छौँ ।’ स्नातकोत्तर तहमा अध्ययन गराउने अस्थायी शिक्षकलाई दिइएको तलबमा समेत महालेखाले ६० लाख बेरुजु देखाएको रिजालले बताए । एक घण्टाको घण्टीमा ४५ मिनेट मात्रै पढाएको र १५ मिनेटको रकममाथि महालेखाले प्रश्न उठाएको उनको भनाइ छ ।
पूर्वउपकुलपति तीर्थ खनियाँले त्रिविको बेरुजु अत्यधिक भएकाले यसबारे गम्भीर भएर अध्ययन गर्नुपर्ने बताए । ‘त्रिविको बेरुजु अध्ययन नै गर्नुपर्ने विषय बनेको छ, मेरो पालामा मैले निकै कोसिस गरेर केही बेरुजु घटाएको थिएँ, खारेज भइसकेका संस्थाको रकम पनि त्रिविको बेरुजुमा जोडिएको छ,’ उनले भने, ‘यो महालेखासँग समन्वय नभएर पनि हो, अर्को कुरा संरचना ठूलो भएकाले वित्तीय अनुशासनका लागि अनुगमन पनि पुगेको छैन ।’
हाल त्रिविअन्तर्गत पाँचवटा अध्ययन संस्थान, ६२ आंगिक क्याम्पस, चार शिक्षण स्कुल, एक हजार ६० वटा सम्बन्धन प्राप्त क्याम्पस, ४० केन्द्रीय विभाग र चारवटा संकाय छन् ।
सभाबाट २६ अर्ब १६ करोडको बजेट पास
त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र ०८१/८२ का लागि २६ अर्ब १६ करोड ८७ लाख ३५ हजारको बजेट पास गरेको छ । प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी ओलीको उपस्थितिमा मंगलबार बसेको त्रिवि सभा बैठकमा रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पेस गरेको बजेट सभाबाट पास भएको छ ।
शैक्षिक सत्र ०८१/८२ का लागि त्रिविले नियमित कार्यक्रमतर्फ चालू र पुँजीगत रूपमा १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार बजेट अनुमान गरेको छ । आन्तरिकतर्फ चालू तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा एक अर्ब पाँच करोड छुट्याएको छ ।
०८१/८२ मा हुने नियमित कार्यक्रममा हुने कुल खर्च १३ अर्ब७१ करोड ९७ लाख ७८ हजारमध्ये केन्द्रीय आम्दानीबाट एक अर्ब ५७ करोड ६१ लाख ७० हजार बजेट व्यवस्थापन हुनेछ । बाँकी १२ अर्ब १४ करोड ३६ लाख १७ हजार विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग अनुदान माग गरिनेछ ।
त्रिविले चालू खर्चका लागि अनुदान रकम ११ अर्ब ३२ करोड ४३ लाख ४१ हजार रकम छुट्याएको छ । तर, उक्त रकमको अवस्था हेर्दा चालू वर्षमा नियमिततर्फ ८१ करोड ९२ लाख ७६ हजार न्यून हुने देखिन्छ ।
तालिम, गोष्ठी र सेमिनारलगायत कार्यक्रमका लागि १३ करोड ३६ लाख ७७ हजार बजेट छुट्याएको छ । अनुसन्धान तथा विकासतर्फ ५१ करोड ७४ लाख ६० हजार बजेट छुट्याइएको छ ।
भयावह छैन, घटाउँदै जाने तयारी छ : प्रधानमन्त्री
‘सम्परीक्षणबाट ६ अर्ब बेरुजु फर्स्योट हुन्छ’
त्रिवि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति केपी ओलीले बेरुजु बढेजस्तो देखिए पनि भयावह नभएको बताए । उनले ६ अर्ब बेरुजु सम्परीक्षणबाट छिट्टै घटाउने तयारी भइरहेको बताए । हरेक वर्ष एक–एक अर्बका दरले बेरुजु घटाउँदै लगिने योजना पनि उनले सुनाए । सम्परीक्षणबाट घटाउँदा जम्माजम्मी बेरुजु २२ अर्ब बाँकी रहने र त्यसलाई हरेक वर्ष एक–एक अर्ब गरेर घटाउन सकिने उनको भनाइ छ । ‘बेरुजु बढेर भयावह भएको होइन, यो तीन–चार वर्षअघिको कुरा हो, सम्परीक्षणबाट ६ अर्ब फर्स्योट हुने अवस्था छ । महालेखाले सम्परीक्षण गर्न पायो भने बेरुजुबारे क्लियर हुन्छ । हरेक वर्ष अलिअलि बेरुजु बस्दै जाँदा धेरै देखिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यद्यपि, बेरुजु बढेर भयावह भएको होइन, पहिलेको अवस्थामा खासै सुधार ल्याउन पनि सकिएको छैन ।’
बजेट अभाव भए प्राज्ञिक तथा अनुसन्धानको बजेट कटौती हुने
बजेट नघटाउने कुलपति ओलीको आश्वासन
त्रिविले शैक्षिक सत्र ०८१/८२ मा सरकारले थप रकम नदिए प्राज्ञिक र अनुसन्धानात्मक क्रियाकलापमा छुट्याइएको बजेट कटौती गर्ने योजना बनाएको छ । मंगलबार त्रिवि सभामा रजिस्ट्रार प्रा.डा. केदार रिजालले बजेट प्रस्तुत गर्दै सरकारले चालू खर्चका लागि बजेट नदिएमा सो रकम प्राज्ञिक तथा अनुसन्धानका लागि छुट्याइएको बजेटबाट मिलान गरिने बताएका हुन् ।
त्रिविले चालू खर्चका लागि अनुदान रकम ११ अर्ब ३२ करोड ४३ लाख ४१ हजार छुट्याएको छ । यो रकम सरकारले नदिएमा प्राज्ञिक र अनुसन्धानात्मक क्रियाकलापमा छुट्याइएको बजेट कटौती गरिने उनको भनाइ छ । यसबाहेक त्रिविले अनुसन्धान तथा विकासतर्फ ५१ करोड ७४ लाख ६० हजार बजेट छुट्याएको छ ।
कुलपति तथा प्रधानमन्त्री ओलीले त्रिविको अनुदान वृद्धि गर्न आवश्यक रहेको बताउँदै अनुदानको ५१ करोड बजेट नघट्ने बताए । ‘त्रिविको अनुदान रकम घट्दैन, सरकारको तर्फबाट अनुदान आयोग बनाएर त्यही आयोगबाट त्रिविलाई बजेट दिइरहेको अवस्था छ,’ उनले भने ।
त्रिवि स्ववियु सभापति श्यामराज ओझाले प्राज्ञिक तथा अनुसन्धानका लागि छुट्याइएको बजेट कुनै पनि हालतमा कटौती गर्न नहुने बताए । अनुसन्धानको बजेट कटौती गरे त्रिविको साख गुम्ने उनको भनाइ छ । ‘त्रिविमा बजेट कम हुँदा त्यसै पनि अनुसन्धान र अध्ययन कम छ । यस वर्ष उक्त रकम कटौती गरेर अन्य कार्यक्रममा लैजाने भनिएको रहेछ । यो राम्रो होइन । यस्तै–यस्तै खराब प्रवृत्तिले त्रिवि खस्किँदै छ,’ उनले भने ।