बाढीपीडितको गुनासो : बस्तीमा सबै आए, राहत आएन

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण

कञ्चनपुरका बाढीपीडितले बाढीबाट विस्थापित भएकै दिनदेखि बस्तीमा सरकारी, गैरसरकारी सबै निकायका प्रतिनिधि पुगेको, तर सरकारी राहत नपाएको गुनासो गरेका छन्। बाढीपीडितले विस्थापित भएको तीन सातासम्म पनि सरकारबाट पाइने राहत नपाएको गुनासो गरेका हुन् । 

उनीहरूले बस्तीमा स्थानीय सरकारका जनप्रतिनिधि, राजनीतिक दल, तिनका नेता कार्यकर्ता, प्रदेश, संघीय संसद्, प्रदेश/संघका पूर्व, बहालवालामन्त्री एनजिओकर्मी, पत्रकार, आफूलाई समाजसेवी बताउँदै सबै अभियन्ता पुगे, तर राहत अझै नपुगेको बताए । 

बाढीको उच्च जोखिममा रहेको दोधाराचाँदनी नगरपालिका– ३ पटराखल्लाका बाढीपीडित गंगादेवी सुनारले बस्तीमा जनप्रतिनिधि, नेता कार्यकर्ताहरू, एनजिओकर्मी, पत्रकार, अभियन्ता आउने हामीहरूका समस्या सोधपुछ गर्ने, फोटो खिच्ने, भिडियो बनाउने, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि पहल गछौँ भन्ने तर फर्किएर नआउने प्रवृत्ति दोहोरिएको बताइन् । ‘हामी बाढीबाट विस्थापित भएर विद्यालयमै बसेका छौँ,’ उनले भनिन्, ‘दैनिकजसो कोही न कोही बस्तीमा आउँछन्, गर्छौँ भनेर जान्छन्, हाम्रो पीडा हामीसँग नै छ ।’

पटराखल्लाका अर्का बाढीपीडित रमेश लुहारले पनि बाढीबाट विस्थापित भएकालाई झुटा आश्वासन दिने, तर राहत, पुनर्स्थापना र पुनर्निर्माण नगर्ने प्रवृत्ति हाबी हुँदा आफूहरूले दुःखपूर्ण  जीवन बिताउन बाध्य भएको बताए ।पटराखल्लाकी बाढीपीडित देवसरा सुनारले बस्तीमा सबै आए पनि निड्स नेपाल र एनएनएसडब्लुएले मात्र राहत दिएको बताइन् । 

पटराखल्लाका बाढीपीडित जस्तै दोधाराचाँदनी नगरका सुन्दरनगर, सुर्खेती, निसानी टोल, १८ नम्बर सीमा बस्ती, कुतियाकबर, भीमदत्त, बेदकोट, बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी, कृष्णपुर र शुक्लाफाँटाका वाढीपीडितले पनि सरकारी राहत नपाएको दुःखेसो पोखिरहेका छन्। शुक्लाफाँटा नगरपालिका १२ कालागौडी शिविरका मोहन दमाईंले बाढीपीडितका लागि अहिले पनि बस्तीमा कसैले पनि राहत नदिएको बताए । 

जिल्लाका स्थानीय सरकारले बाढी विस्थापितहरूका लागि पालिका र स्थानीय संघसंस्थामार्फत खाद्यान्न राहत वितरण गरिएको बताएका छन् भने राहत क्षतिपूर्ति, पुनर्निर्माणका प्रदेश र संघीय सरकारबाट आउने राहतका लागि विवरण पठाएको जनाएका छन् । दोधाराचाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले नगरबाट विवरण संकलन गरेर पठाए पनि केन्द्र सरकारबाट राहत नआएको बताए । 
 

सुझावित समाचार