सुन तस्करीका अभियुक्तकै गाडीमा ओहोरदोहोर गर्थे भन्सारका कर्मचारी

६० किलो सुन तस्करीमा तेस्रो चरणको अनुसन्धान

सोमबार, १४ साउन, २०८१
डिजिटल संस्करण

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग भन्सारका कर्मचारीको निकटस्थ सम्बन्ध देखिएको छ । रसुवाबाट काठमाडौं आउने तथा सिंहदरबार जाने क्रममा तस्करीमा संलग्नकै गाडीमा भन्सार कर्मचारीहरू ओहोरदोहोर गर्ने प्रहरी अनुसन्धानले देखाएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी भएको घटनाको दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ । जसमा भन्सार कर्मचारीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सघाएका तथ्य भेटिएका छन् । तर, यसरी सघाउने भन्सार कर्मचारीमाथि कारबाही भएको छैन ।

सिआइबी स्रोतका अनुसार भन्सार अधिकृत भरतराज अधिकारी त पटक–पटक सुन तस्करीमा संलग्न चिनियाँकै गाडीमा ओहोरदोहोर गर्थे । सुन तस्करीको समयमा गत वर्ष अधिकारी रसुवा भन्सार कार्यालयमा कार्यरत थिए । उनी रसुवाबाट सुन तस्करीका अभियुक्त दावाजिन वाङकै गाडीमा पटक–पटक काठमाडौं आउने गरेका थिए । वाङले भेपमा लुकाएर सुन तस्करी गर्ने गरेकोमा शंका लागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बरामद गरेको थियो । सो भेप छुटाउन अधिकारीले सहजीकरण गरेका थिए । 

भन्सार अधिकृत अधिकारीलाई जाँचबुझ आयोगले कारबाही सिफारिस गरे पनि उनी अझै ठूलो भन्सार कार्यालय वीरगन्जमा कार्यरत छन् । अनुसन्धानको क्रममा अधिकृत अधिकारी आफैँले पनि तस्करीमा संलग्न चिनियाँसँग काठमाडौं आउने गरेको तथा सिंहदरबार जाने गरेको स्वीकार गरेका छन् । 

सिआइबी स्रोतका अनुसार भन्सारले भेप नियन्त्रणमा लिएपछि चिनियाँले सुरुमा अधिकारीलाई सम्पर्क गरेका थिए । छुटाउन सहयोग गरेकोमा १० लाख रुपैयाँ दिने प्रस्ताव उनलाई गरिएको थियो । त्यसका लागि उनले अप्रत्यक्ष रूपमा पहल पनि गरेका थिए । उनले चिनियाँलाई विमानस्थलका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल र प्रमुख भन्सार अधिकृत मुक्तिबहादुर श्रेष्ठको मोबाइल नम्बर उपलब्ध गराएका थिए । प्रहरीको सोधपुछको क्रममा उनले सो कुरा स्वीकार गरिसकेका छन् । 

चिनियाँ नागरिक वाङका चालक लोकेन्द्र पौडेलले पनि बयानको क्रममा अधिकृत अधिकारीलाई आफूले पटक–पटक उनको घरमा छाडेको कुरा बताएका छन् । त्यति मात्र नभई वाङ, राहुल महरा र लोकेन्द्र पौडेलसँग उनको अस्वाभाविक टेलिफोन सम्पर्क देखिएको थियो । जस आधारमा अधिकारीले सो समूहलाई सहयोग गरेको प्रस्ट देखिन्छ । त्यही सहयोग गरेको आधारमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल पक्राउ परेका थिए । राहुल हाल पुर्पक्षका लागि कारागारमा छन् भने महरालाई सिआइबीले हाजिरी जमानीमा राखेर अनुसन्धान गरिरहेको छ । गत ५ चैतमा पक्राउ परेका महरालाई स्वास्थ्यको कारण देखाई सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो । तर, अनुसन्धान अझै पूरा भएको छैन । 

६० किलो सुन तस्करी प्रकरणको हालै दोस्रो चरणको अनुसन्धान पूरा भएर मुद्दा दायर भएको र अब भेप प्रकरणमा अनुसन्धान केन्द्रित भएको सिआइबीले जनाएको छ । जाँचबुझ आयोगको समेत प्रतिवेदनका आधारमा सो घटनाको अनुसन्धान जारी रहेको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन् । ‘विगतमा नखुलेका कतिपय विषयमा विस्तृत अनुसन्धान अघि बढेको छ,’ उनले भने । 

पहिलो चरणमा सिआइबीले गत वर्ष २७ असारमा नौजनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा महरा परिवारलगायतलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि यसको समेत छानबिन गर्ने जिम्मेवारी जाँचबुझ आयोगलाई दिइएको थियो । जस आधारमा पूर्वसभामुख महरालगायत छानबिनमा तानिएका हुन् । 

यसमा थप भन्सार कर्मचारीहरूको भूमिकासमेत पत्ता लागेको छ । यो प्रकरणमा तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत श्रीधर टन्डन, मुक्तिप्रसाद श्रेष्ठको समेत भूमिका शंकास्पद देखिए पनि प्रहरीले विस्तृत अनुसन्धान गरेको छैन । उनीहरूमाथि विभागीय कारबाहीको सिफारिससमेत कार्यान्वयन हुन सकेको छैन । पोखरेललाई त गृह मन्त्रालयले पूर्वी नवलपरासीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर ‘पुरस्कृत’ गरेको छ । यस प्रकरणमा भन्सारका कर्मचारीले सिआइबीमाथि सामूहिक रूपमा दबाब दिइरहेका छन् । यसमा भन्सारका तत्कालीन नासु रेवन्त खड्कालाई मात्र सिआइबीले पक्राउ गरेकामा हाल उनी पुर्पक्षका लागि कारागारमा छन् । 

कसरी तस्करी भएको थियो सुन ? 
१० पुस ०७९ मा फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हासोङका दुई सुटकेसमा भेप शंका लागी भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । सो भेपभित्र करिब नौ केजी सुन थियो । सुन रहेको दुई सुटकेस डेढ महिनासम्म आगमन कक्षकै छेउमा थन्किन्छ ।

२९ माघमा विमानस्थल भन्सार कार्यालयको प्रशासनिक भवनमा सारिन्छ । यहीबीचमा विमानस्थल भन्सार कार्यालयका पूर्वसुरक्षागार्ड निर्मल विकले सुराकी पाउँछन्– सो सुटकेसमा रहेका विद्युतीय चुरोटभित्र सुन लुकाइएको छ । उनले पाएको जानकारी थियो– यसरी सुन रहेको विद्युतीय चुरोट तान्दा धुवाँ आउँदैन । एउटा चुरोट निकालेर उनले परीक्षण गर्छन्, तान्दा धुवाँ आउँदैन । त्यसलाई थप निश्चित गर्न चुरोट फुटाएर सुन पनि निकाल्छन् । त्यसपछि भन्सारभित्र हल्ला चल्छ, विद्युतीय चुरोटभित्र ठूलो मात्रामा सुन छ ।

भन्सार एजेन्ट दिनेश बस्नेतले पनि त्यो कुरा थाहा पाउँछन् । सुन हात पार्न उनले नाटकीय योजना बनाउँछन्– सुटकेसभित्र अर्काे विद्युतीय चुरोट लगेर राख्ने र त्यो निकालेर सुन बेच्ने । त्यसका लागि उनले भन्सारको मुद्दा शाखामा कार्यरत नायब सुब्बा रेवन्त खड्कालाई साझेदार बनाउँछन् । खड्का पनि लोभिन्छन् । योजनाअनुसार २९ फागुनमा नासु खड्काले दुईवटा सुटकेस कोठाबाट भन्सारको फोहोर राख्न कोठामा लैजान्छन् । त्यो कोठामा सिसिक्यामेरा नभएकाले विद्युतीय चुरोट साट्न त्यसरी सारिएको थियो । सोही कोठामा अर्काे विद्युतीय चुरोट राखेर सुन भएको निकालिन्छ । १८ मार्चदेखि १५ अप्रिलको बीचमा त्यसरी विद्युतीय चुरोट साटिएको सिआइबी अनुसन्धानको निष्कर्ष छ । 

भन्सारका अन्य कर्मचारीले पनि त्यसमा सुन रहेको सूचना पाएपछि पछि खोलेर हेर्दा पहिलेभन्दा फरक विद्युतीय चुरोट देखिन्छ । जसका आधारमा सुन चोरी भएको आशंकामा भन्सार कार्यालयले ०८० वैशाखमा सिआइबीमा निवेदन दिएको थियो । करिब दुई महिना लामो अनुसन्धानमा भन्सार कर्मचारी, भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरी २७ असार ०८० मा मुद्दा दायर भएको थियो । 

भन्सार कार्यालयको मुद्दा शाखामा नायब सुब्बा रेवन्त खड्काले त्यसरी सुन तस्करी गर्न सहयोग गर्दा ६५ लाख रूपैयाँ लिएको खुल्छ । उनलाई पैसा दिने व्यक्ति भन्सार एजेन्ट दिनेश बस्नेत हुन् । बस्नेतले सो सुन भिनाजु गोपाल सुवेदी र भाइ दिपेश बस्नेतमार्फत बिक्री गरेका थिए । सो सुन बिक्रीमा विशालबजारमा घडी तथा चस्मा पसल चलाउने साहेब राव मर्गलेले मध्यस्थता गरेका थिए । उनले सुनको जाँच गर्ने व्यवसायमा संलग्न भारतीय नागरिक नन्दकुमार पाण्डरम मर्गलेलगायतलाई सुन बिक्री गरेका थिए । उनी अनुसन्धान सुरु हुुनुअघि नै भारत भागेका थिए । जसकारण सुन भने हालसम्म बरामद हुन सकेको छैन । 

करिब नौ किलो सुन ६ करोडमा बिक्री भएको थियो । बिक्री गरेकोमध्ये ८० लाख भन्सार एजेन्ट बस्नेतकै बैंक खातामा भेटिएको थियो । त्यस्तै, उनीहरूले सिन्धुपल्चोक घर भएका मेडिकल व्यवसायी अमृत कार्कीको नाममा भक्तपुरको ठिमीमा जग्गा पनि खरिद गरेका थिए । कार्कीलाई पनि सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । 

दिनेशले आफ्ना ससुुरा रामकेशव थापा क्षेत्रीको नाममा पनि केही सम्पत्ति लुकाएका थिए । यो घटनामा नासु खड्का, भन्सार एजेन्ट बस्नेत, भन्सारका पूर्वसुरक्षागार्ड निर्मल विक, सुन बेच्न मध्यस्थता गर्ने वेदप्रकाश अग्रवाल र साहेब राव पान्डुरङ मर्गले तथा सुनको पैसाले जग्गा किन्ने अमृत कार्कीलाई सिआइबीले पक्राउ गरेको थियो । सिआइबीले तस्करी गर्ने समूहसँग पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको अस्वभाविक टेलिफोन सम्पर्क देखाउँदै अनुसन्धानमा प्रतिवेदन पेश गरेको थियो । तर, उनीहरूलाई सोधपुछ भने गरेन । पछि सो कुरा बाहिर आएपछि प्रहरीले राहुललाई पक्राउ गरेको थियो । पूर्वसभामुखको हकमा भने जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धान अघि बढेको हो । 

थप क–कसको संलग्नता खुल्यो ? 
यसअघि सिआइबीले १० जनाविरुद्ध मुद्दा दायर गरेकोमा हाल थप व्यक्तिहरूको संलग्नता देखिएको छ । प्रमुख भन्सार अधिकृत विष्णु पौडेलका चालक अनिवास राउतमाथि पनि अनुसन्धान भइरहेको छ । निर्मलकुमार विकले भेपबाट सुन चोरेर बिक्री गर्ने क्रममा उनले सहयोग गरेका थिए । पसलबाट दुई हजार पाँच सय रुपैयाँ उनले लिएका थिए । सुन चोरीबारे जानकारी हुँदा पनि उनले आफ्ना हाकिमलाई त्यसबारे जानकारी गराएका थिएनन् । पछि निर्मललाई भगाउनसमेत उनको भूमिका देखिएको थियो । 

त्यस्तै, यसअघि १४ किलो सुन तस्करीमा पक्राउ परी धरौटीमा छुटेका प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङले पनि यसअघि मुद्दामा उन्मुक्ति पाएका थिए । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार रहेका उनको तस्करी समूहसँग आर्थिक कारोबार देखिएको थियो । उनलाई भारत हुँदै भागेकोमा उनीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्ने प्रक्रिया अघि बढेको छ । 

त्यस्तै, यसअघि सिआइबीले अनुसन्धानमा छुटाएका नन्दकुमार पान्डुरङ मरगले पनि अहिले सिआइबीको छानबिनमा छन् । यसअघि पक्राउ परेका साहेव राव पान्डुरङ मर्गले नन्दकुमार पान्डुरङकै दाइ हुन् । तस्करीको सुन बिक्रीमा उनको प्रत्यक्ष भूमिका देखिएको छ । 

त्यस्तै, अहिले यो प्रकरणमा श्यामसुन्दर साहसमेत अनुसन्धानको दायरामा छन् । उनले बरामद भएको सुनसहितको भेप छुटाउन पहल गरेका थिए । उनको दावाजिन वाङसँग ४२ पटक र उनका चालक लोकेन्द्र पौडेलसँग एक सय ८३ पटक सम्पर्क देखिएको थियो । तर, यसअघि उनी अनुसन्धानको दायरामा थिएनन् । साथै भेप र ६० किलो सुन तस्करी गर्ने समूहबीच पनि अन्तरसम्बन्ध देखिएको थियो । त्यसमा अन्य केही व्यक्तिहरूको पनि संलग्नता खुलेको सिआइबी स्रोत बताउँछ ।  पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्षताको ‘सुनको अवैध पैठारी(तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८०’ ले पनि सो यस घटनामा प्रहरीको अनुसन्धान अपूरो रहेको भन्दै विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको थियो । 

भन्सार अधिकृत भरतराज अधिकारी - जो तस्करका गाडीमा आवतजावत गर्थे, ठाउँठाउँमा सम्पर्कसूत्रको काम गर्थे

  • भन्सार अधिकृत भरतराज अधिकारी विद्युतीय चुरोट (भेप)मा राखेर दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक दावाजिन वाङको गाडीमा पटक–पटक ओहोरदोहोर गरेको सिआइबी अनुसन्धानमा खुलेको छ । गत वर्ष रसुवा भन्सार कार्यालयमा कार्यरत छँदा उनी वाङको गाडीमा रसुवाबाट काठमाडौं आउने र सिंहदरबारसम्म जाने गरेको अनुसन्धानमा स्वयंले स्विकारको सिआइबी स्रोतले बतायो । तर, उनी हाल अझै ठूलो भन्सार कार्यालय वीरगन्जमा कार्यरत छन् ।
  • विमानस्थल भन्सार कार्यालयले बरामद गरेको भेप छुटाउनसमेत अधिकारीले सहजीकरण गरेका थिए । सिआइबी स्रोतका अनुसार भन्सारले भेप नियन्त्रणमा लिएपछि चिनियाँले सुरुमा अधिकारीलाई सम्पर्क गरेका थिए । छुटाउन सहयोग गरेकामा १० लाख रुपैयाँ दिने प्रस्ताव उनलाई गरिएको थियो । त्यसका लागि उनले अप्रत्यक्ष रूपमा पहल पनि गरेका थिए । उनले चिनियाँलाई विमानस्थलका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल र प्रमुख भन्सार अधिकृत मुक्तिबहादुर श्रेष्ठको मोबाइल नम्बर उपलब्ध गराएका थिए । प्रहरीको सोधपुछको क्रममा उनले सो कुरा स्वीकार गरिसकेका छन् । 
  • चिनियाँ नागरिक वाङका चालक लोकेन्द्र पौडेलले पनि भरतराजलाई आफूले पटक–पटक उनको घरमा पु¥याएको बयान दिएका छन् । त्यति मात्र नभई वाङ, राहुल महरा र लोकेन्द्र पौडेलसँग उनको अस्वाभाविक टेलिफोन सम्पर्क देखिएको थियो । 

सुझावित समाचार