इरानको राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । निर्वाचनमा एक मात्र सुधारवादी उम्मेदवार मसुद पेजेस्कियानले ४२.४ प्रतिशत र कट्टरपन्थी सइद जलिलीले ३८.६ प्रतिशत मत ल्याएका छन् । यो राष्ट्रपतिको निर्काचनका लागि चाहिने आवश्यक बहुमतभन्दा कम हो । पहिलो चरणको निर्वाचन यही जुन २८ मा सम्पन्न भएको थियो ।
त्यसैगरी, सभामुखबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका मोहम्मद बघेर गालिबाफले १३.८ प्रतिशत मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार मुस्तफा पौरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन् । इरानी संविधानअनुसार राष्ट्रपतिका लागि कुनै पनि उम्मेदवारले बहुमत (५० प्रतिशत वा योभन्दा बढी) मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
शनिबार पहिलो चरणको निर्वाचन परिणाम घोषणा गर्दै निर्वाचन आयोगका प्रवक्ता मोहसेन इस्लामीले भने, ‘पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त नगरेको र दोस्रो चरणको निर्वाचनपूर्व निर्धारित कार्यक्रमअनुसार जुलाई ५ मा हुनेछ ।’
चुनावपछिको आफ्नो पहिलो टिप्पणीमा पेजेस्कियानले आफ्ना समर्थकलाई धन्यवाद दिँदै आगामी शुक्रबार फेरि मतदान गरी देशलाई गरिबी, झुट, भेदभाव र अन्यायबाट बचाउन आग्रह गरेका छन् ।सुधारवादी समूह निकट मानिने पत्रिका इटेमादको वेबसाइटमा प्रशारित एक भिडियोमा उनले भने, ‘तपाईंको उपस्थितिले मनोवृत्ति, व्यवहार, वार्तालाप र स्रोतहरूको वितरण र बाँडफाँडमा परिवर्तनका लागि नयाँ आवाजको आधार बन्नेछ भन्ने मलाई पूर्ण आशा छ ।’
इरानका सर्वोच्च नेता अयतुल्लाह अली खामेनीले शुक्रबार हुने मतदानमा उच्च सहभागिताका लागि आह्वान गरेका छन् । निर्वाचनमा ६ करोड १० लाख मतदातामध्ये ४० प्रतिशतभन्दा केही बढीले मात्र भाग लिएका थिए । इस्लामिक गणतन्त्र इरानका लागि यो इतिहासमा नै सबैभन्दा कम मतदान प्रतिशत थियो ।