सुदूरपश्चिममा बजेटमाथिको छलफल असार तेस्रो सातादेखि

शुक्रबार, १५ असार, २०८१
डिजिटल संस्करण

बिचौलियाको सेटिङमा बजेट आएको भन्दै एमालेनिकट अनेरास्ववियुद्वारा मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल सुरु हुन सकेको छैन । प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले गत १ असारमा आगामी वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रदेश सभामा पेस गरेका थिए । बजेट सार्वजनिक भएयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । छाप्न ढिलाइ भएपछि सांसदलाई रातो किताब वितरण गर्न ढिलाइ भएको छ । बजेट भाषणपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । अर्को बैठकको मिति तय नभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बजेटमाथिको छलफल सुरु हुन अझै केही दिन लाग्ने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । १६–२० असारसम्म एकीकृत समाजवादीको महाधिवेशन हुँदै छ । एकीकृत समाजवादीकोे संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित सो पार्टीका प्रदेश सांसद महाधिवेशनमा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनपछि बजेटमाथिको छलफल सुरु हुने बताइएको छ । 

असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । विगतमा पनि प्रदेश सरकारको बजेटमाथि असार अन्तिमतिर मात्रै सदनमा छलफल सुरु हुने गरेको थियो । आर्थिक मामिलामन्त्री पालले असार तेस्रो सातातिर बजेटमाछिको छलफल सुरु हुने बताए । ‘अहिले मुख्यमन्त्रीज्यू र धेरैजसो माननीयज्यूहरू बाहिर हुनुहुन्छ । २२–२३ असारतिर बजेटमाथि सदनमा छलफल सुरु होला,’ उनले भने । एकीकृत समाजवादीको महाधिवेशनलाई ध्यानमा राखेर सदनमा छलफल सुरु गरिने उनले बताए ।

सांसदलाई रातो किताब वितरण नहुँदै र मन्त्रालयले आफ्नो वेबसाइटमा नराख्दै बजेटको ‘डिजिटल कपी’ बाहिरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलले पत्रकार सम्मेलन गरेरै यसबारे छानबिन समिति गठन गर्न माग गरेको छ । आर्थिक मामिलामन्त्री पालले भने सार्वजनिक भएकोप्रति आधिकारिक नभएको दाबी गरेका छन् । ‘बाहिरिएको रातो किताब आधिकारिक होइन, यो कसरी आयो भनेर छलफल गरिरहेका छौँ,’ उनले भने । यस्तै, बिचौलियाको सेटिङमा बजेट आएको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुले बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको छ ।      

सुझावित समाचार