रोकथामका लागि उपत्यका विकास प्राधिकरणको काम सुस्त गतिमा
बर्खाका वेला हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्दै आएको बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रले यस वर्ष पनि उक्त दुःख व्यहोर्नुपर्ने स्थिति छ । यहाँ डुबान रोक्न सरकारले करोडौँको योजना अघि सारे पनि काममा ढिलासुस्ती हुँदा कपनवासीले डुबान व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ तथा काठमाडौं महानगरपालिका ६ र ७ वडामा हुने डुबान रोक्न उपत्यका विकास प्राधिकरणमार्फत सरकारले २८ करोड लागतको आयोजना अघि सारेको थियो । ०८० जेठमै सुरु भएको आयोजनाको प्रगति जम्मा ३० प्रतिशत मात्रै छ । बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार समयमै आयोजनाको काम नहुँदा यसपटक पनि डुबानको जोखिम छ । ‘सुरुमा काम थाल्दा काठमाडौं महानगरपालिकाले अवरोध गर्यो, अझ साँध–सिमानामा विवाद भयो, प्राधिकरणले दुवै नगरपालिकामा हुने डुबान रोक्न काम गर्न सहज वातावरण पाएन,’ उनले भने, ‘महानगरले समन्वय नगरी काम गरेकाले सुरुमा समस्या उत्पन्न भयो ।’ बुढानीलकण्ठ नगरपालिकाको डुबान रोक्न आर्थिक वर्ष ०७९/८० मा ३६ करोड रुपैयाँको बजेट परेको थियो । तर, डुबान नियन्त्रण योजना सुरु नभएपछि बजेट फ्रिज भएको थियो । प्रदेश सरकारको उक्त बजेट कामै नभएपछि फिर्ता भएको थियो ।
कपन क्षेत्रमा डुबान पर्नुको मुख्य कारण यहाँको चखुंचा खहरे खोला व्यवस्थापन नहुनु हो । बुढानीलकण्ठ नगरपालिकाका अनुसार चखुंचा खहरे ०२१ सालको नापी–नक्सामा कपनतर्फको साबिक कपन ३ (ङ)मा पर्ने उल्लेख छ । पछि हालसाबिक हुँदा साबिकको काठमाडौं महानगरपालिका–६ तर्फबाट खहरे सरेको छ । कपनतर्फ पछि ०६४ सालमा दोस्रो नापी जाँच गर्दा अधिकांशको जग्गा हाल साबिकमा घटेको छ भने खहरेलाई ढल बनाएपछि बाटोका रूपमा नाप–नक्सा भएको छ ।
यस क्षेत्रमा बुढानीलकण्ठ र काठमाडौं महानगरपालिकाको गरी करिब २.२ किमि क्षेत्र बर्खाका वेला डुबानमा पर्छ । यसमध्ये काठमाडौं महानगरपालिका–७ र ६ वडामा नौ सय मिटर क्षेत्रफल पर्छ भने अन्य डुबान हुने क्षेत्र बुढानीलकण्ठ– १०, ११ र १२ वडामा पर्छ । तर, काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाले आफ्नो वडा क्षेत्र ९० प्रतिशत डुबानबाट मुक्त भएको दाबी गरेका छन् । ‘काठमाडौं महानगरपालिकातर्फ हुने डुबान अब रोकियो,’ उनले भने, ‘उपत्यका विकास प्राधिकरणले डुबान रोक्ने गरी निकासको काम गरिरहेको छ ।’
डुबान रोक्न हालसम्म के–के काम भयो ?
उपत्यका विकास प्राधिकरणका आयोजना प्रमुख तथा जिल्ला आयुक्त प्रकाश अर्यालले काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिका क्षेत्र डुबान नियन्त्रणका लागि ठेक्का लगाएर काम भइरहेको बताए । तर, हालसम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको छ । ‘आयोजनामा सोचेजसरी काम भएको छैन, ३० प्रतिशत मात्रै प्रगति भएको छ, यति कामले डुबान रोकिन्छ भनेर दाबी गर्न सकिँदैन,’ उनले भने, ‘बीचमा विभिन्न बाधा–अवरोध हुँदा काम ढिलो भएको हो ।’
उनका अनुसार यस क्षेत्रमा दुईवटा प्रोजेक्टअन्तर्गत काम भइरहेको छ । जसमा एउटा बक्स कल्भर्ट बनाउने र अर्को कंक्रिट वाल बनाउने । तर, यी दुवै काम चित्तबुझ्दो अवस्थामा भएका छैनन् । गत वर्ष महानगरबाट खहरे खोला उत्खनन गर्ने भनेर सहमति भएपछि मात्रै काम सुरु भएको थियो । हाल केही ठाउँमा कंक्रिट वाल र दुई सय मिटर ढुंगाको वाल लगाइएको छ ।
यसकारण बर्सेनि कपन डुबान
कपन डुबान पर्नुको मुख्य कारण यहाँको खहरे खोलालाई ह्युमपाइपभित्र पसाउनु हो । हिउँदमा खहरे खोला ह्युमपाइपमा अटे पनि बर्खामा भने सामान्य पानी पर्दा नै व्यक्तिको घरआँगनमै पानी पुग्ने गरेको छ । खहरे खोलाको मुहान शिवपुरी राष्ट्रिय निकुञ्ज भएकाले निकुञ्जदेखिकै पानी आउँछ । खहरेको स्थानीय नाम स्यालमती र चखुंचा पनि हो ।
स्थानीयवासीका अनुसार ०५६ सालतिर खहरे खोला मासेर ४८ इन्चको ह्युमपाइप बिछ्याइएको छ । त्यसमाथि कालोपत्रे सडक बनाइएको छ । खोलामाथि पक्की सडक बनेपछि जग्गाको मूल्य अकासिएको थियो । यसैबीच केही टाठाबाठाको मिलेमतोमा खोलाको जग्गासमेत बिक्री भयो । नगरपालिकाका मेयर अधिकारीले डुबानको मुख्य कारण आकासे पानी निकास नहुनु रहेको बताए । उनले पानीको निकास नै नगरी सडक बनेका कारण समस्या भएको बताए ।
उपत्यकाका यी ठाउँ डुबानको जोखिममा
आकासे पानीको राम्रो निकास नहुँदा उपत्यकाका विभिन्न स्थान सामान्य वर्षामै जलमग्न हुन्छन् । बर्खाका वेला यहाँका चोक तथा गल्लीहरू पोखरीजस्ता बन्छन् । विशेष गरी कपन, अनामनगर क्षेत्र, नयाँ बसपार्क, पुतलीसडक, त्रिपुरेश्वर, टेकु, सुन्धारा, पाटन दरबार क्षेत्र, हात्तीवन, नख्खु, बल्खु, कलंकी, भक्तपुर सल्लाघारी, जडीबुटी, जगातीलगायत ठाउँ डुबानको जोखिममा पर्दै आएका छन् ।