रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ ओर्लिए । युक्रेन आक्रमणको दुई वर्षपछि उत्तर कोरिया पुगेका पुटिन यसअघि रुसी राष्ट्रपतिका रूपमा २४ वर्षपछि उत्तर कोरिया भ्रमणमा गएका थिए । प्योङयाङमा बुधबार नै पुटिनले समकक्षी नेता किम जोङ उनसँग भेटवार्ता गरे ।
भेटमा पुटिनले युक्रेन युद्धलगायत रुसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति धन्यवाद ज्ञापन गरे । ‘युक्रेनी मामिलासहित रुसी नीतिप्रति उत्तर कोरियाको स्थायी समर्थनको हामी निकै कदर गर्छौं,’ उत्तर कोरियाली नेता किम जोङ उनसँगको बैठकमा पुटिनले भने । प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ‘समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे ।
दुवै नेताले सैन्य, आर्थिक र राजनीतिक सम्बन्धलाई अझ गहिरो बनाउन ‘व्यापक रणनीतिक साझेदारी’मा हस्ताक्षर गरे । किमले दुई मुलुकबीच हस्ताक्षरित सन्धिलाई भव्य, महान्को संज्ञा दिँदै यसले एक शताब्दीका लागि कोरियाली–रुसी सम्बन्धलाई प्रत्याभूति दिएको दाबी गरे ।
पुटिनले बुधबार उत्तर कोरिया र रुसबीच हस्ताक्षरित नयाँ सन्धिले दुई देशबीच ‘पारस्परिक सहयोग’को आधार प्रदान गर्ने बताए । ‘ आज हस्ताक्षरित व्यापक साझेदारी सन्धिले यस सन्धि पक्षमध्ये कुनै एकविरुद्ध आक्रामकताको अवस्थामा पारस्परिक सहयोग प्रदान गर्छ । यस अग्रणी दस्ताबेजले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेछ,’ पुटिनले भने । पुटिनको यो टिप्पणी पश्चिमतर्फ संकेत भएको विश्लेषकले औँल्याएका छन् । पुटिनले उत्तर कोरियासँग ‘सैन्य–प्राविधिक सहयोग’लाई पनि अस्वीकार गरेनन् ।
रुस अहिले उत्तर कोरियापछि विश्वमा सबैभन्दा धेरै प्रतिबन्ध भोगिरहेको मुलुकमा सामेल भएको समयमा पुटिनको भ्रमण भएको छ । भ्रमणका क्रममा पुटिनले रुस र उत्तर कोरियाविरुद्ध लागू पश्चिमी प्रतिबन्धको पनि विरोध जनाए ।