११ महिनादेखि ब्याजदर ओरालो, घट्यो ३.४४%

शनिबार, १ असार, २०८१
डिजिटल संस्करण

लगानीका अन्य क्षेत्रमा प्रतिफल कमजोर देखिएकाले ब्याजदर घटे पनि बैंकमा पैसा जम्मा गर्ने प्रवृत्तिमा आएन कमी, जेठमा मात्रै थपियो ४७ अर्ब निक्षेप, पछिल्ला २८ दिनमा सरकारी ढुकुटीबाट एक खर्ब १० अर्ब खर्च

वाणिज्य बैंकहरूले घटाउँदै लगेको ब्याजदरलाई असारमा पनि निरन्तरता दिने निर्णय गरेका छन् । निक्षेप थुप्रिएको र कर्जा प्रवाह सुस्त भएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् । चालू आर्थिक वर्ष ०८०/८१ को सबैभन्दा उच्च ब्याजदर १०.३२ प्रतिशत रहेको भदौयता निरन्तर ओरालो लागिरहेको छ । भदौयता ११ महिनामा औसत ब्याजदरमा ३.४४ प्रतिशत विन्दुले कमी आएको छ । संस्थागततर्फ मुद्दती निक्षेपको औसत ब्याजदर ५.६७ प्रतिशत छ । गत भदौमा यस्तो ब्याजदर ८.२८ प्रतिशत थियो । यसबीच २.६१ प्रतिशत विन्दुले घटेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार सोमबारसम्म (२८ जेठसम्म) बैंकहरूमा निक्षेप संकलन ५५ खर्ब १५ अर्ब रुपैयाँ छ । १ जेठमा यस्तो निक्षेप संकलन ५४ खर्ब ६८ अर्ब रुपैयाँ थियो । अर्थात् २८ दिनमा निक्षेप संकलनमा ४७ अर्ब रुपैयाँको वृद्धि भएको देखिन्छ । सरकारी खर्चमा भइरहेको वृद्धिले पनि निक्षेप संकलन बढेको हो । २८ दिनमा एक खर्ब १० अर्बको सरकारी खर्च भएको छ । 

असारका लागि ११ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् । एनआइसी एसिया र एनएमबि बैंकले ब्याजदर ०.११ प्रतिशत विन्दुले घटाएर ७.६९ प्रतिशत कायम राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर ०.१८ प्रतिशतले घटेर ६.२२ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई बैंकको ब्याजदर १ प्रतिशत घटेर ६.५ प्रतिशत कायम छ । 

सानिमा बैंकको ब्याजदर ०.१ प्रतिशत विन्दु कम भएर ६.८ प्रतिशत निर्धारण भएको छ । एभरेष्ट बैंकको ब्याजदर ०.७५ प्रतिशत र नेपाल एसबिआई बैंकको ०.०९ प्रतिशत विन्दुले घटेको छ । सिटिजन्स इन्टरनेसनल बैंकको ब्याजदर ०.१ प्रतिशत विन्दुका दरले घटेर ६.९ प्रतिशत कायम भएको छ ।

हिमालयन, नबिल र माछापुच्छ्रे बैंकले बढाए ब्याजदर
सबैभन्दा बढी ब्याजदर हिमालयन बैंकले दिने भएको छ । हिमालयनले जेठको तुलनामा निक्षेपको ब्याजदर ०.७५ प्रतिशत विन्दुले बढाएर ८.२५ प्रतिशत पुर्याएको छ । नबिल बैंकले ६.७५ प्रतिशतको ब्याजदर बढाएर ७ प्रतिशत पुर्याएको छ भने माछापुच्छ्रे बैंकको ब्याजदर ०.२५ प्रतिशतले बढेर ७.५ प्रतिशत कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, नेपाल बैंक र सिद्धार्थ बैंकको ब्याजदर यथावत् छ । 

See More On

सुझावित समाचार