सेन्चुरी बैंक घोटाला प्रकरण : कम धितोमा साढे दुई अर्ब ऋण प्रवाह, नौजना पक्राउ

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

थोरै धितोमा धेरै ऋण प्रवाह गर्ने तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठसहित नौजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठ सञ्चालक र एक कर्मचारी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले श्रेष्ठसहित सुनीलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र शिवगोपाल सिराललाई सोमबार काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उनीहरूले अनेक जाली कागजात तयार गरी देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको स्वामित्वमा रहेको पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण ड्रिस्टिलरीका नाममा कम धितोमा दुई अर्ब ३० करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । ‘देउराली सहकारीमा भएको आर्थिक हिनामिना अनुसन्धान भइरहेको थियो । यही क्रममा नक्कली कागजात खडा गरी सेन्चुरी बैंकबाट कम धितो राखेर झन्डै साढे दुई अर्ब रुपैयाँ ऋण प्रवाह भएको देखियो । घटनामा संलग्न अध्यक्षसहित नौजना पक्राउ परेका छन्,’ सिआइबी प्रवक्ता एसपी होवीन्द्र बोगटीले भने । 

उनीहरूले ऋण प्रवाहका निम्ति कारोबार धेरै देखाउन आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि करको नक्कली कागजात, लेखापरीक्षणको कागजात पनि नक्कली नै बनाएका थिए । उनीहरूले हुँदै नभएको कारोबारको स्टक तथा रिसिभेबल देखाई गलत वित्तीय विवरणसमेत तयार गरेको सिआइबीले दाबी गरेको छ ।

‘नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधीनबाहिर गई प्रतिवादीहरूले आफूअनुकूलको अवस्था सिर्जना गरेको देखियो । सोही आधारमा कम्पनीहरूको वास्तविक कारोबार रकमभन्दा बढी कारोबार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्रसमेत बनाएको देखियो । नक्कली लेखापरीक्षणसमेत बनाई गैरकानुनी रूपमा ऋण प्रवाह गरेको देखियो,’ बोगटीले भने ।

यसअघि सिआइबीले गत १४ फागुनमा सेन्चुरीका तत्कालीन वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) तथा प्रभु बैंकका डिसिइओ मनोज न्यौपानेसहित १० जना कर्मचारीलाई पक्राउ गरेको थियो । सेन्चुरीबाट देउराली सहकारीलाई एक अर्ब १४ करोड रुपैयाँ मूल्यबराबरको जग्गा धितो राखी दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ ऋण प्रवाह गरेको देखिएपछि सिआइबीले न्यौपानेसहितको टोलीलाई पक्राउ गरेको थियो । 

सुझावित समाचार