बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ। शुक्रबारको प्रदेश सभा बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो।

त्यसअघि बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिएका थिए। उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै उत्कृष्ट भएको दाबी गर्दै सांसदहरूलाई आफ्नो संशोधन फिर्ता लिन आग्रह गरेका थिए। 

मुख्यमन्त्री जम्कट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम सरकारको मात्रै नभई प्रतिपक्षी दलको समेत भएकाले यसको कार्यान्वयनका लागि हातेमालो गरेर अगाडि बढ्न प्रतिपक्षी दलहरूलाई आग्रह गरे। उनले नीति तथा कार्यक्रमले विशेषगरी बागमती प्रदेशको आर्थिक तथा सामाजिक क्षेत्रलाई सवल बनाउनुका साथै प्रदेशलाई सुशासनयुक्त र आत्मनिर्भर बनाउन सक्षम हुने दाबी पनि गरे।

मुख्यमन्त्री जम्कट्टेलले प्रतिपक्षी दलका राम्रा सुझावहरूलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने आश्वासन दिँदै सरकारसँग सशंकित भएर व्यवहार नगर्न आग्रह गरे। उनले सत्तापक्ष, प्रतिपक्ष र स्वयं सरकारका मन्त्रीहरूले समेत वेला-वेलामा निराशाजनक कुरा गर्ने गरेको भन्दै जनतामा आशा लाग्ने कुरा गर्न आग्रह गर्दै निराशा नबाँढ्न पनि भने।

यसअघि १४ जेठमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बुधबार, बिहीबार र शुक्रबारसमेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए। यस्तै, नीति तथा कार्यक्रममा कांग्रेसका रामकृष्ण चित्रकार, समिता खड्गी, सुरजचन्द्र लामिछाने, श्यामबहादुर खड्का र प्रभात तामाङ, राप्रपाका आशा लामा, लक्ष्मी घिमिरे, नेमकिपाका सुरेन्द्र गोसाईं र सिर्जना सायजूले संशोधन प्रस्ताव राखेका थिए। उनीहरूको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। 

यस्तै, शुक्रबारको प्रदेश सभा बैठकमा कांग्रेसका सांसद कृष्णकुमार तामाङले विपद् व्यवस्थापन र सम्भावित जोखिम न्यूनीकरणसम्बन्धी प्रस्ताव पेस गरेका थिए। ध्यानाकर्षण प्रस्ताव पेस गर्दै सांसद तामाङले मेलम्ची र हेलम्बुका जनताले भोग्नुपरेको प्राकृतिक प्रकोपको पीडा स्मरण गर्न आग्रह गरेका थिए। उनले २०७८ साल असार १६ र १७ गते मेलम्ची र हेलम्बु क्षेत्रमा गएको भीषण बाढीको त्रास अहिले पनि कायम रहेको भन्दै सरकारको ध्यान त्यसतर्फ नगएको भन्दै गुनासो गरे। 

वर्षा सुरु भइसकेको जानकारी गराउँदै सांसद तामाङले त्यहाँका जनताले आगामी दिनमा पनि विगतको जस्तो त्रासदीपूर्ण अवस्था भोग्न नपरोस् भन्दै तत्काल प्रभावकारी उपाय अपनाउन आग्रह गरे। सांसद तामाङको ध्यानाकर्षणको जवाफ दिँदै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराण श्रेष्ठले मेलम्ची र हेलम्बुको जस्तो त्रास बागमती प्रदेशका विभिन्न स्थानमा रहेको बताए।

उनले प्रदेश सरकारले केन्द्र सरकारसँगको समन्वयमा विपद् न्यूनीकरणका साथै उद्धार तथा पुनर्स्थापनाको तयारी गरिरहेको जानकारी दिएका थिए। बागमती प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सभामुख पाठकले जानकारी गराए।
 

सुझावित समाचार