गाजाका प्राज्ञको खुलापत्र

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

हामी प्यालेस्टिनी प्राज्ञ र गाजामा रहेका विश्वविद्यालयका कर्मचारीका रूपमा हाम्रो अस्तित्व, हाम्रा सहकर्मी एवं विद्यार्थीको अस्तित्व र हामीलाई मेटाउन खोज्ने वर्तमान प्रयासको सामना गर्दै छौँ । हामी हाम्रो भविष्यका लागि एकसाथ उभिएका छौँ । इजरायली अतिक्रमणकारी सेनाले हाम्रा भवन भत्काएका छन् । तर, हाम्रा विश्वविद्यालय जीवित छन् । हामी हाम्रो भूमिमा रहन र गाजामा रहेका हाम्रा प्यालेस्टिनी विश्वविद्यालयमा अध्यापन, अध्ययन र अनुसन्धान पुनः सुरु गर्न प्रतिबद्ध छौँ ।

हामी विश्वभरका हाम्रा साथी र सहकर्मीलाई कब्जा गरिएको प्यालेस्टाइनमा शिक्षाविरुद्धको निरन्तर अभियान (स्कलेस्टिसाइड) को विरोध गर्न, हाम्रा ध्वस्त विश्वविद्यालय पुनर्निर्माणमा सहयोग गर्न र हाम्रा शैक्षिक संस्थाको अखण्डतालाई उपेक्षा गर्ने, कमजोर बनाउने वा घटाउने प्रयासलाई अस्वीकार गर्न आग्रह गर्छौं । गाजाका युवाको भविष्य हाम्रो उपस्थिति र अर्को पुस्ताको सेवा गर्ने उद्देश्य हाम्रो भूमिमा हामी रहन सक्ने क्षमतामा निर्भर गर्छ ।

हामी यो आह्वान अतिक्रमणकारी सेनाले बमबारी गरिरहेको अतिक्रमित गाजामा, रफाहको शरणार्थी शिविरमा र इजिप्ट तथा अन्य देशका अस्थायी नयाँ निर्वासबाट गरिरहेका छाैँ । हामी यो सन्देश साझा गर्दै छौँ । किनभने इजरायली अतिक्रमणले हाम्रो सामूहिक र व्यक्तिगत जीवनका हरेक पक्षलाई उन्मूलन गर्ने लक्ष्य राख्दै हामीविरुद्ध दैनिक नरसंहार चलाइरहेको छ ।

गाजाका शैक्षिक संस्थाको पुनर्निर्माण हाम्रो लचिलोपन, दृढता र आगामी पुस्ताको भविष्य सुरक्षित गर्ने अटल प्रतिबद्धताको प्रमाण हो
 

हाम्रा परिवार, सहकर्मी र विद्यार्थीको हत्या भइरहेको छ र हामी घरबारविहीन भएका छौँ । हामी सन् १९४७ र १९४८ मा जायनिस्ट (यहुदी सर्वोच्चतावादी राष्ट्रवादी) सशस्त्र बलले गरेको नरसंहार र सामूहिक निष्कासनका क्रममा हाम्रा आमाबुबा र हजुरबा–हजुरआमाले पाएको यातनालाई पुनः अनुभव गर्दै छौँ ।

हाम्रा नागरिक पूर्वाधार अर्थात् विश्वविद्यालय, विद्यालय, अस्पताल, पुस्तकालय, संग्रहालय र सांस्कृतिक केन्द्रलगायत हाम्रा पुस्ताले निर्माण गरेका यी भवन निरन्तरको प्रलयकारी आक्रमणले भग्नावशेषमा परिणत भइरहेका छन् । हाम्रो शैक्षिक पूर्वाधारलाई नियतवश तारो बनाउनु भनेको गाजालाई बसोवास गर्न नसकिने र हाम्रो समाजको बौद्धिक एवं सांस्कृतिक विरासतलाई मेटाउने निर्दयी प्रयास हो । यद्यपि यस्ता कृत्यले हामीभित्र रहेको ज्ञान र सामना गर्ने शक्तिलाई क्षीण बनाउन सक्दैन ।

अमेरिका र बेलायतजस्ता इजरायली अतिक्रमणका समर्थकले गाजामा स्वतन्त्र प्यालेस्टिनी शैक्षिक जीवनलाई उन्मूलन गर्ने उद्देश्यले तथाकथित पुनर्निर्माण योजना प्रवद्र्धन गरेर शिक्षामा अर्को आक्रमण सुरु गरिरहेका छन् । हामी यी योजनालाई अस्वीकार गर्छौं र हामी हाम्रा सहकर्मीलाई यी योजनामा कुनै पनि किसिमले संलग्न नरहन आह्वान गर्छौं । हामी विश्वभरका सबै विश्वविद्यालय र सहकर्मीलाई हाम्रा संस्थासँग प्रत्यक्ष रूपमा शैक्षिक सहायता प्रयासको समन्वय गर्न आग्रह गर्छाैँ ।

हामीसँग ऐक्यबद्धतामा उभिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थालाई हामी हृदयदेखि नै प्रशंसा गर्छौं । यो चुनौतीपूर्ण समयमा तपाईंको समर्थन र सहयोग अमूल्य छ । यद्यपि हामी गाजामा प्यालेस्टिनी विश्वविद्यालयलाई प्रभावकारी रूपमा सुचारु गर्न यी प्रयासलाई समन्वय गर्नुपर्नेमा जोड दिन्छौँ । हामी हालका विद्यार्थीलाई समर्थन गर्न मात्र नभई हाम्रो उच्च शिक्षा प्रणालीको दीर्घकालीन लचिलोपन र दिगोपन सुनिश्चित गर्न गाजाका शिक्षा संस्थालाई पुनः सञ्चालन गर्नुपर्ने तत्कालीन आवश्यकतामा जोड दिन्छौँ । शिक्षा ज्ञान दिने माध्यम मात्र होइन, यो हाम्रो अस्तित्वको महŒवपूर्ण स्तम्भ र प्यालेस्टिनी जनताका लागि आशाको किरण पनि हो ।

त्यसैगरी पूर्वाधार पुनस्र्थापना र विश्वविद्यालयका सम्पूर्ण संयन्त्र–संरचनाको पुनर्निर्माणका लागि दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ । यद्यपि यस्ता प्रयासका लागि पर्याप्त समय एवं रकम आवश्यक पर्छ । लगानी नहुँदा शैक्षिक संस्थाको सञ्चालन दिगो हुन सक्ने क्षमतामा जोखिम निम्त्याउँछ र सम्भावित रूपमा कर्मचारी, विद्यार्थीको संख्या घटेर संस्थाको पुनः सञ्चालन हुने क्षमता घट्छ ।

अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै भौतिक पूर्वाधार विनाशले निम्त्याएको अवरोधलाई न्यूनीकरण गर्न अनलाइन शिक्षणलाई द्रुत रूपमा अगाडि बढाउन आवश्यक छ । यस संक्रमणका लागि शैक्षिक कर्मचारीको तलबसहित परिचालन लागत पूरा गर्ने गरी व्यापक समर्थन आवश्यक छ । विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत रहेको विद्यार्थी शुल्क नरसंहार सुरु भएदेखि नै घटेको छ । आयको अभावले कर्मचारी तलबविहीन भएका छन् र कतिपय बाह्य अवसर खोज्न बाध्य भएका छन् । नियतवश शिक्षाविरुद्धको निरन्तर अभियान (स्कलेस्टिसाइड) ले विश्वविद्यालयका संकाय र कर्मचारीको जीविकोपार्जनमा गम्भीर प्रहार गरेको छ । 

अहिले शैक्षिक संस्थाले सामना गरिरहेको आर्थिक संकटलाई सम्बोधन गर्न र तिनको अस्तित्व सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्छ । हामी सम्बन्धित सबै पक्षलाई यस महत्वपूर्ण उद्देश्यको समर्थनमा आफ्नो प्रयासलाई तुरुन्तै समन्वय गर्न आह्वान गर्छौं । गाजाका शैक्षिक संस्थाको पुनर्निर्माण शिक्षाको मात्र विषय होइन, यो हाम्रो लचिलोपन, दृढता र आगामी पुस्ताका लागि भविष्य सुरक्षित गर्ने अटल प्रतिबद्धताको प्रमाण पनि हो ।

गाजामा उच्च शिक्षाको भविष्य गाजाका विश्वविद्यालय, संकाय, कर्मचारी र विद्यार्थी एवं समग्र प्यालेस्टिनी जनताको हातमा छ । हामी अहिले चलिरहेको नरसंहार अन्त्य गर्न विश्वभरका मानिस र नागरिकले गरेको प्रयासको कदर गर्छौं । हामी मातृभूमि र अन्तर्राष्ट्रियस्तरमा हाम्रा सहकर्मीलाई हाम्रा विश्वविद्यालयको रक्षा र संरक्षणका लागि हाम्रो दृढ प्रयासलाई समर्थन गर्न आह्वान गर्छौं । यो आह्वान हाम्रा जनताको भविष्य र गाजा अर्थात् प्यालेस्टिनी भूमिमा रहन सक्ने हाम्रो क्षमताका लागि हो । हामीले यी विश्वविद्यालयलाई अहिले त्रिपालबाट चलाइरहेका छौँ । र, हाम्रा साथीहरूको सहयोगमा त्रिपालबाट हामी यी विश्वविद्यालयलाई पुनः निर्माण गर्नेछौँ । 

(गाजाका प्राज्ञ एवं विश्वविद्यालयका एक सय ८५ जना अधिकारीले हस्ताक्षर गरेको साझा वक्तव्य) 
अलजजिराबाट  

 

See More On

सुझावित समाचार