सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले ३ जेठमा विश्वासको मत लिने

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी ३ जेठमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। केन्द्रमा गठबन्धनको शीर्ष तहमा भएको छलफलअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी रहेको उनको पार्टी नेकपा एकीकृत समाजवादीले जनाएको छ।

समाजवादीको प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले विश्वासको मत लिनेबारे केन्द्रबाट निर्देशन आएको बताए। 

‘केन्द्रमा गठबन्धनको नेतृत्वपंक्तिमा सहमति भएपछि हामी यहाँ अगाडि बढ्ने हो, प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षले विश्वासको मत लिन मुख्यमन्त्रीलाई भनिसक्नुभएको छ,’ उपनेता रावलले भने, ‘मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा हुनुहुन्छ।’

मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिन खोजेका थिए, तर नेकपा एमाले मत दिन तयार नभएपछि विश्वासको मतको प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक २१ गते सारिएको थियो । फलफलविनै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भन्दै एमाले तयार नहुँदा २१ गते पनि प्रदेश सभा बैठक बस्न सकेन।

मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे अहिले प्रदेश तहमा गठबन्धनबीच छलफल भइसकेको छैन । एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे केन्द्रबाट कुनै निर्देशन आएको आफूलाई नरहेको बताए। 

‘जेठ ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिने सहमति केन्द्रमा भएको भन्ने सुनिएको छ,’ उनले भने, ‘पार्टी केन्द्रले गर्ने निर्देशनअनुसार हामी यहाँ अगाडि बढ्छौँ।’ 

नेकपा माओवादी केन्द्र भने मुख्यमन्त्रीले सक्दो चाँडो विश्वासको मत लिएर सरकारलाई पूर्णता दिनुपर्ने पक्षमा छ। बजेट निर्माणको तयारीमा जुट्नुपर्ने भएकाले विश्वासको मत र मन्त्रिमण्डल विस्तारको काम चाँडै टुंग्याउनुपर्ने माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले बताए।

एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा गत ६ वैशाखमा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। 

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सदस्यको मत आवश्यक पर्छ। गठबन्धनको पक्षमा अहिले एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्ति (अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष)का दुई र एकजना स्वतन्त्र सांसदको समर्थन छ। सभामुख भीमबहादुर भण्डारी माओवादीबाट निर्वाचित हुन्।

सुझावित समाचार