भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसद्का ९६ स्थानका लागि आज मतदान हुँदै छ।
साथै आन्ध्र प्रदेश राज्यको एक सय ७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदै छ।
लोकसभाको ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलांगानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बंगालका आठ, बिहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु कस्मिरका एक स्थानमा चुनाव हुँदै छ।
निर्वाचन आयोगका अनुसार यस चरणमा कुल एक हजार सात सय १७ उम्मेदवार चुनावी मैदानमा छन्।
यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बंगाल कंग्रेसका प्रमुख अधिररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीवरञ्जन सिंह (ललन सिंह), टिएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी छन्।
तेस्रो चरणको मतदानसम्म दुई सय ८३ स्थानको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ। भारतको लोकसभामा पाँच सय ४३ स्थान छ।