भारतमा हुने चुनावलाई लक्षित गरी गौरीफन्टा नाका ७२ घण्टा बन्द गरिने

शुक्रबार, २८ बैशाख, २०८१
डिजिटल संस्करण

भारतमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै गौरीफन्टा सीमानाका बन्द गरिने भएको छ। 

शुक्रबार साँझबाट ७२ घण्टाका लागि नाका बन्द रहने जानकारी भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यहाँ सीमा जोडिएको भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा आगामी ३१ वैशाखमा लोकसभाको निर्वाचन हुँदै छ। 

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मतदान कार्य पूरा नहुँदासम्म नाका बन्द रहने भनेर भारतीय पक्षले पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै निर्वाचन अवधिसम्म नेपाल–भारतका जिल्लास्थित सबै नाकाहरू सिल गरिने जनाएको छ। 

बिरामी बोकेका एम्बुलेन्स, अत्यावश्यक सामान बोकेका गाडीबाहेक यातायात सञ्चालन र हिँडडुल गर्न शुक्रबार साँझ ६ बजेदेखि बन्द गरिने बताइएको छ। सुदूरपश्चिममा भारतसँगको प्रमुख नाका गौरीफन्टाबाट दैनिक सयौँ नेपाली र भारतीय ओहोरदोहोर गर्छन्।
      
 

सुझावित समाचार