युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको मंगलबार राति भएको सेमिफाइनलको पहिलो खेलमा सर्वाधिक १४ पटकको विजेता रियल म्याड्रिड र बायर्न म्युनिखबीच २–२ को बराबरी भएको छ । रियलका लागि भिनिसियस जुनियरले दुई गोल गरेका थिए । दोस्रो लेग ९ मेमा रियलको घरेलु मैदानमा हुनेछ । रियललाई अवे गोलको फाइदा रहेको छ । ७५ हजार घरेलु दर्शकको साथ पाएको बायर्न अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो ।
खेलको २४औँ मिनेटमा रियलले १–० को अग्रता लिएको थियो । ब्राजिलियन युवा स्ट्राइकर भिनिसियसले अग्रता गोल गरेका हुन् । उनले टोनी क्रुजको सटीक पासमा गोल गरे । पहिलो हाफमा बायर्नले रियलमाथि दबाब राखे पनि बराबरी गोल फर्काउन सकेन । मध्यान्तरपछि बायर्नले खेलमा सुधार गर्यो । यस अवधिमा बायर्नले दुई गोलको अग्रता लिँदै दोस्रो लेगअघि आफूलाई बलियो पोजिसनमा राखेको थियो ।
खेलको ५३औँ मिनेटमा लिरोय सानेले बायर्नलाई १–१ को बराबरीमा पुर्याए । खेलको ५७औँ मिनेटमा ह्यारी केनले बायर्नलाई २–१ को अग्रता दिलाए । उनले पेनाल्टीमा गोल गरेका थिए । खेल सकिन सात मिनेटअघि भिनिसियसले रियललाई २–२ को बराबरीमा पुर्याए । दोस्रो हाफमा रियल र बायर्नका केही आकर्षक गोल प्रयास गोलरक्षकहरूले विफल पारेका थिए ।
उपाधि जित्नुपर्ने दबाबमा बायर्न
यस सिजनमा बायर्नको योजनाअनुसार नतिजा निस्किरहेको छैन । यसपटकको बुन्डेस लिगको उपाधि बायर लेभरकुसेनले जितिसकेको छ । लेभरकुसेनले बायर्नको लगातार १२ पटकको बुन्डेस लिग जित्ने अभियान तोडेको थियो । लेभरकुसेनले उत्कृष्ट प्रदर्शन गर्दा बायर्न यसपटक बुन्डेस लिग विजेता बन्न नसकेको हो । उपाधि रक्षा गर्न नसकेको बायर्नको लक्ष्य अब च्याम्पियन्स लिग रहेको छ । प्रशिक्षक टुचेलले रियलविरुद्ध बलियो सेट उतारेका थिए ।