अमेरिकाको दुवै सदनबाट पारित भयो ६१ अर्ब डलरको युक्रेन सहायता प्याकेज

बिहिबार, १३ बैशाख, २०८१
डिजिटल संस्करण

शनिबार अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिभ’ले पारित गरेको युक्रेनका लागि ६१ अर्ब अमेरिकी डलरको सहायताको प्याकेजलाई माथिल्लो सदन सिनेटले पनि अनुमोदन गरेको छ । यस विशाल आर्थिक सहायता प्याकजले युक्रेनलाई रुसविरुद्ध जारी युद्धमा महत्वपूर्ण सहयोग गर्ने विश्लेषण गरिँदै छ । त्यो कसरी सम्भव हुनेछ भन्नेबारे यहाँ चर्चा गरिएको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि युक्रेनलाई सबैभन्दा ठूलो आर्थिक सहयोग अमेरिकाले गरिरहेको छ । रुसको आक्रमणपछि युक्रेनले पाएको सबै प्रकारको सहयोगको तथ्यांक राख्दै आएको जर्मन अुसन्धान संस्था ‘किइल इन्स्टिच्युट फर द वल्र्ड इकोनोमी’का अनुसार अमेरिकाले युक्रेन युद्ध सुरु हुनुभन्दा एक महिनाअघि अर्थात् सन् २०२२ जनवरी २४ देखि यो वर्ष जनवरी १५ सम्म युक्रेनलाई ७४.३ अर्ब अमेरिकी डलरको आर्थिक सहयोग गरेको छ ।

यो रकम मानवीय, वित्तीय र सैन्य गरी विभिन्न शीर्षकमा छुट्याइएको भए पनि यसको ठूलो हिस्सा सैन्य प्रयोजनमा खर्च हुनेछ । कुल अमेरिकी सहायता प्रतिबद्धताको ६२ प्रतिशत अर्थात् ४६.३ अर्ब डलर सैन्य प्रयोजनमा खर्च गरिएको किइल इन्स्टिच्युटको तथ्यांकले देखाउँछ । 

अमेरिकाभित्र युक्रेन युद्धप्रति समर्थन घट्न थालेपछि र रिपब्लिकन पार्टीभित्र युक्रेनलाई सहयोग दिन हुँदैन भन्ने धारणा बलियो हँुदै जान थालेपछि अमेरिकी सहयोग प्रभावित हुन थाल्यो । अघिल्लो वर्ष(सन् २०२३)को अन्त्यदेखि भने अमेरिकी सैन्य सहायता लगभग ठप्प भएको थियो ।

आफ्नो सबैभन्दा ठूलो दाता मुलुकबाट सहयोग रोकिएपछि युक्रेनले रुसविरुद्ध आक्रमण गर्ने त परको कुरा रुसबाट हुने निरन्तरको बमबारी रोक्नसमेत संघर्ष गर्नुपर्ने स्थिति आयो । युक्रेनी सेनासँग रुसी फौजलाई रोक्न हतियार नभएकै कारण फेब्रुअरीमा दोनबास क्षेत्रमा अवस्थित अभ्दिभ्का सहरबाट पछि हट्न बाध्य भएको थियो । अहिले ‘चासिभ यार’ नामक सहरमा पनि युक्रेन पछि हट्न दबाब खेपिरहेको छ । रुसी सेना कम्तीमा पनि पाँच–एकको अनुपातमा किभविरुद्ध हाबी भएकाले युक्रेनी फौज रुसी फौजलाई अघि बढ्नबाट रोक्न अक्षम हुँदै गएको छ ।

अभाव यति चर्को बनेको छ कि केही युक्रेनी सैनिक अगाडि बढिरहेका रुसी फौजलाई तर्साउन धुवाँ मात्र निकाल्ने नक्कली गोलाबारुद प्रयोग गर्न बाध्य भएका छन् । सक्कली गोलाबारुद बाँकी नरहेकाले यस्तो रणनीति अपनाउन बाध्य भएको उनीहरूको भनाइ छ । त्यस्तै युक्रेनलाई क्षेप्यास्त्र प्रतिरक्षाको पनि ठूलो अभाव भएको छ ।

यसले रुसी क्षेप्यास्त्रले विनाअवरोध सजिलै युक्रेनी ऊर्जा पूर्वाधार ध्वस्त पारिरहेका छन् । रुसले मार्चमा खार्किभ क्षेत्रमा दुईवटा र अप्रिलको सुरुमै किभको दक्षिणी भागको ऊर्जा केन्द्र नष्ट गर्यो । १३ लाख जनसंख्या भएको खार्किभ सहरमा अहिले २४ घन्टामा केही घन्टा मात्रै बिजुली उपलब्ध गराइन्छ । हालको बिजुली प्रणालीले अर्को शरद ऋतु र जाडो धान्न नसक्ने चिन्ता बढिरहेको छ ।

सहायताअन्तर्गतका हतियार युद्धमैदानमा दुई साताभित्र पुग्ने 
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीले शुक्रबार सहायता प्याकेज स्वीकृत भएपछि टिप्पणी गर्ने क्रममा केही दिनमै प्रारम्भिक प्याकेज पठाउने तयारी गरिरहेको बताए । यसका लागि आफूहरूले तल्लो सदनबाट अनुमोदन भएको अनुदान प्याकेज माथिल्लो सदन(सिनेट)बाट अनुमोदन भएर राष्ट्रपति जो बाइडेनको हस्ताक्षरको पर्खाइमा रहेको तिनले बताए ।

अब माथिल्लो सदनमा पनि मतदान भएर पारित भए पछि राष्ट्रपतिको हस्ताक्षर मात्र बाँकी छ । सिनेटमा सहायता प्याकेज समर्थन गर्ने डेमोक्रेटिकको बहुमत रहेकाले तल्लो सदनमा जस्तो ठूलो वहस नभई पारित भयो । पेन्टागनको प्रारम्भिक प्याकेजमा सम्भवतः हातहतियार र वायु प्रतिरक्षा रहने अनुमान छ । यो युरोपमा राखिएका अमेरिकी हतियार भण्डारणबाट निकासा गरिनेछ, जसलाई युक्रेन पुर्याउन एक वा दुई हप्ता लाग्नेछ । हतियार युक्रेन पुगेपछि तीन असर देखिन केही समय लाग्ने विज्ञहरू बताउँछन् । उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी हतियार युक्रेन भित्रिनुअघि रुसले आक्रमण तीव्र पार्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी सहायताले रुस–युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्छ ?
युक्रेनलाई पश्चिमी सहायता बढिरहेको सन्दर्भमा रुसले पनि आफ्नो रक्षा खर्च बढाउँदै लगेको छ । केही अनुमानअनुसार रुसको रक्षा बजेट कुल गार्हस्थ उत्पादनको ७.५ प्रतिशतसम्म पुगेको छ । त्यस्तै उसले युद्ध मैदानमा नवीनता शैलीको प्रयोग पनि बढाएको छ । मस्कोले युद्धको अग्रमोर्चा कमजोर बनाउन कच्चा तर घातक ग्लाइड बमको प्रयोग बढाएको छ । लामो दूरीबाट प्रहार गरिने यी बमलाई निस्तेज बनाउन किभले संघर्ष गर्नुपरिरहेको छ । त्यस्तै, युक्रेनी सिपाहीका अनुसार रुसले ठूलो संख्यामा ड्रोन प्रयोग गर्न थालेको छ । 

रुसलाई युद्ध मैदानमा जनशक्तिको उच्च संख्याको लाभ छ, जसलाई उसले भारी हतियार दिएर युद्धमैदानमा पठाइरहेको छ । हालसम्मको पश्चिमी सहयोगबाट युक्रेनले सन् २०२४ भित्र रुससँग गुमाएको भूमि फिर्ता ल्याउन सक्ने सम्भावना नरहेको विज्ञहरूको विश्लेषण छ । ‘अमेरिकी सहायता प्याकेजले यो वर्षभरि युक्रेनी सैन्य स्थितिलाई स्थिर बनाउन र सन् २०२५ मा युद्ध अभियान सञ्चालनको तयारी सुरु गर्न मात्र मद्दत गर्न सक्छ,’ रुसी सैन्य थिंक ट्यांकका म्याथ्यु सेभिलले भने । युरोपमा तैनाथ पूर्वअमेरिकी सैन्य कमान्डर बेन होडज पनि यस कुरामा सहमति जनाउँछन् । उनका अनुसार दुवै पक्षले यो वर्षलाई अर्को वर्ष निर्णायक प्रहार गर्न सक्षम हुने गरी स्रोत निर्माण गर्न प्रयोग गरिरहेकोजस्तो देखिन्छ । 
– द गार्जियनबाट
 

सुझावित समाचार