तराईकाे लु कम्तीमा पाँच दिन लम्बिने

सोमबार, १० बैशाख, २०८१
डिजिटल संस्करण

माैसम पूर्वानुमान महाशाखाले तराईमा ताताे हावाकाे लहर (लु) चल्न थालेकाे घाेषणा गरेकाे छ।

महाशाखाले साेमबार बुलेटिन जारी गर्दै लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू-भागका थोरै स्थानमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू-भागको थोरै स्थानमा विगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको उल्लेख गरेकाे छ। साथै देशभर तापक्रम बढेकाे छ।

‘तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ। हाल लु चलेकाे क्षेत्रमा आगामी ५ दिन (वैशाख १४) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ। 

पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना छ। नयाँ पत्रिकाले साेमबारकाे अंकमा तराईकाे जनकपुर, सिमरा, भैरहवा क्षेत्रमा लु चल्न थालेकाे समाचार सम्प्रेषण गरेकाे थियाे।

‘लु’ का असर 

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ।

कसरी जाेगिने ?

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह लिने गर्नुपर्छ।
 

सुझावित समाचार