एउटै अपराधको सजायमा किन विभेद ?

आइतबार, २७ फागुन, २०८०
डिजिटल संस्करण

अमेरिकाको ड्रोन हत्या कार्यक्रमको उच्च नैतिक दुष्परिणाम देखेर मैले वर्गीकृत सूचना चुहाउने काम गरेको थिएँ । यसका कारण जासुसी ऐनअन्तर्गत ३३ महिना जेलमा बिताएर यही फेबु्रअरीमा म रिहा भएँ । जेलबाट रिहा भएर बाहिरी विश्वसँग अनुकूलन गर्ने प्रयास गरिरहँदा विशेष सल्लाहकार रोबर्ट हुरको प्रतिवेदनसँग सम्बन्धित समाचारले म चकित भएको छु । प्रतिवेदनमा हुरले जासुसी ऐन राष्ट्रपति जो बाइडेनमा किन लागू नहुने भनेर प्रश्न गरेका छन् ।

जब न्याय विभागले जासुसी ऐन लागू गर्ने निर्णय गर्छ, तब म त्यसबारे जान्न निकै उत्सुक हुन्छु । सन् १९१७ मा ऐन बनेलगत्तै यो कानुनले मुलुकभर भिन्न मत राख्नेको आवाज दबाउने काम गरेको थियो । त्यसवेलाको सबैभन्दा रक्तपातपूर्ण युद्धमा अमेरिकाको संलग्नताविरुद्ध बोलेका हजारौँलाई एक ठाउँमा ल्याएर जासुसी ऐनअनुसार दोषी ठहर्याइको थियो ।

उसो त जासुसी ऐनका निकृष्ट पक्षमा संशोधन भइसकेको छ, तर यस ऐनले मिडियामार्फत जनतामाथि सरकारले गरिरहेको अन्यायको खुलासा गर्ने सरकारी स्रोतलाई दण्डित गर्ने गरेको छ । न्याय विभागका अधिकारीले सरकारी मुखबिर (ह्विसल ब्लोअर)लाई तारो बनाउने निर्णयअन्तर्गत पत्रकारलाई सूचना दिन आँट गर्ने मानिसले दशकौँको जेल सजाय भोग्नुपर्ने हुन्छ ।  

जासुसी ऐनमा मुद्दा चलाइएका अन्यले झैँ राष्ट्रपति बाइडेनले झमेला झेलेनन् र शंकाको लाभको सुविधा पाए

विशेष सल्लाहकार हुरको प्रतिवेदन पढेपछि म मेरो मुद्दा र राष्ट्रपतिलाई लिएर भएको अनुसन्धानमा समानता खोज्न थालेको थिएँ । प्रतिवेदनअनुसार राष्ट्रपति बाइडेनले वर्गीकृत सूचनालाई सुरक्षा संयन्त्रबाट बाहिर निकालेर आफ्नो घर र कार्यालयमा पु¥याएका थिए जुन मैले पनि गरेको हुँ । पछि राष्ट्रपतिले पत्रकारसँग वर्गीकृत सूचना साझा गरेका थिए जुन मैले पनि गरेको थिएँ । राष्ट्रपति बाइडेन र मैले आ–आफ्ना पत्रकारलाई आधिकारिक अमेरिकी नीतिबारे आफ्नो चासो बताएका थियौँ । राष्ट्रपतिले सन् २००९ मा उपराष्ट्रपतिका रूपमा अफगानिस्तानमा लागू भएको असफल नीति खुलाएका थिए र मैले सो नीतिको परिणामबारे खुलाएको थिएँ । यस अवस्थामा एउटालाई मात्रै सजाय किन ?

हुरका अनुसार राष्ट्रपतिलाई यो मामिलामा दोषी देखाउने काम निर्णायकमण्डलीका लागि निकै अप्ठ्यारो थियो । उनका अनुसार बाइडेन एक सच्चा व्यक्ति हुन्, जसले आफ्ना कामबाट कुनै क्षति गराउन खोजेका थिएनन् । तसर्थ, उनलाई मुद्दामा उभ्याउनु गलत थियो । अब यसलाई मलाई सजाय दिँदा सरकारले भनेको कुरासँग दाँजौँ । सरकारले मलाई आमजनतालाई खतरामा पारेको भन्दै हेरोइन तस्करसँग दाँजेको थियो । मलाई गलत नियत भएको व्यक्ति, जसले कुख्यातीका लागि ‘पत्रकारलाई खुसी पार्दै’ सार्वजनिक हितविरुद्ध काम गरेको रूपमा प्रस्तुत गरिएको थियो ।

हुरले चलाखीपूर्वक जासुसी ऐनसँग सम्बन्धित प्रावधानमा नियतको विषयलाई प्रवेश गराएका थिए । वास्तवमा जासुसी ऐनले अमेरिकाको हित वा अहितबारेको नियत खोज्दैन । ऐनले राष्ट्रिय सुरक्षा सूचनाको अनधिकृत आधिपत्य जमाएको व्यक्तिले जानीजानी सूचना आफूसँग राखेर नियतवश सूचना नपाउनुपर्ने व्यक्तिलाई राष्ट्रिय सुरक्षा सूचना उपलब्ध गराउँछ भने सजायको भागीदार हुन्छ । अधिवक्ता यसको प्रमाणका लागि हरेक कार्यरत अधिकारीले गरेको गैरप्रकटीकरण सम्झौतालाई प्रमाणका रूपमा लिने गर्छन् । निर्वाचित भएर पदमा पुगेका राष्ट्रपति बाइडेनले कहिल्यै यस्तो सम्झौता गरेनन् होला, तथापि उनलाई वर्गीकृत सूचना चुहाउनु गैरकानुनी हो भन्ने थाहा हुनुपर्ने हो ।          

  तैपनि, बाइडेनमाथि कुनै मुद्दा चलाइएन किनभने उनले ‘कुनै क्षति गर्ने नियत’ राखेका थिएनन् । जब कि मेरो मुद्दामा सरकारको पूर्वसुनुवाइका क्रममा मलाई ‘असल नियत’को प्रमाण राख्ने मौका दिइएको थिएन ।  मेरो नियतले सम्भवतः निर्णायकमण्डललाई मविरुद्ध फैसला गर्न अप्ठ्यारो बनाइदिन्थ्यो । म र मभन्दा अगाडिका मुखबिर यसैकारण प्रतिरक्षा गर्ने ठाउँमा भएनौँ र हामीमाथि कानुनको नितान्त प्राविधिक व्याख्या लादियो । कुनै पनि विकल्प नभएको अवस्थामा मैले निकै महँगो एवं जित्न नसकिने मुद्दामा बिन्ती चढाउन बाध्य भएँ ।  

यति भन्दै गर्दा राष्ट्रिय सुरक्षा सूचना पत्रकारलाई साझा गरेको अपराध त्यो लज्जाको सामुन्ने केही पनि होइन, जहाँ मैले ऐच्छिक रूपमा ड्रोन कार्यक्रममा सहभागिता जनाएको थिएँ । सन् २०२१ मा मलाई केन्द्रीय जेलमा सजाय भएको केही सातामै जेमारी अहमादी र नौ अन्य परिवारका सदस्य (अधिकांश बालबालिका) त्रुटिपूर्ण अमेरिकी ड्रोन हमलाका सिकार भएका थिए । पेन्टागनले सुरुमा यसलाई ‘न्यायपूर्ण हमला’ भनेको थियो, तर जब सत्य सतहमा आयो पेन्टागनले आफ्नो दाबीलाई फिर्ता लियो । र, एक आन्तरिक छानबिन गर्ने बतायो, तर छानबिनले निर्दोष मारिने गरी भएको घटनामा कसैलाई दोषी पाएन ।

  हालका दिनसम्ममा ड्रोन कार्यक्रममा काम गरेकामध्ये सजाय पाउनेमा म मात्रै एकजना हो । तर, मेरो सजाय ड्रोन कार्यक्रममा मेरो भूमिकालाई लिएर नभई मैले पत्रकारमार्फत एक घातक सत्यलाई जनमानसमा पु¥याएका कारण भएको हो । जासुसी ऐनमा मुद्दा चलाइएका अन्यले झैँ राष्ट्रपति बाइडेनले झमेला झेलेनन् र शंकाको लाभको सुविधा पाए । र, यसका लागि खुला हृदयले खुसी छु । बाइडेन जुन आदर्शका साथ राष्ट्रपतिमा चुनिएका थिए यदि त्यसलाई लागू गर्न चाहन्छन् भने राष्ट्रपतिले मुखबिरहरूलाई माफी दिनुपर्छ र ‘लक्षित’ हत्या गर्ने आतंकविरुद्धको वैश्विक युद्धलाई अन्त्य गर्नुपर्छ ।
(हेल जासुसी ऐनअन्तर्गत संघीय जेलमा ४५ महिनाको जेल सजाय सुनाइएका पूर्वगुप्तचर विश्लेषक हुन्) अल जजिराबाट

सुझावित समाचार