हेल्प नेपाल स्पोर्टस् क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टाइगर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार पोखरा रंगशाला परिसरमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदशेलाई ३–१ को सेटमा हरायो ।
तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले खेलमा दबाब बनाएको थियो । टोलीले पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१८ ले जितेको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट घरेलु टोलीले २६–२४ ले जितेको हो । चौथो सेटमा हेल्प नेपालले २५–१७ को सहज जित निकाल्दै प्रतियोगिताको ट्रफी पहिलो पटक उचालेको छ ।
जित सगै हेल्प नेपालले समूह चरणमा गण्डकीसँग भोगेको हारको बदला समेत लिएको छ । यसअघि हेल्प नेपाल र गण्डकी एउटै समूहमा रहेका थिए । समूह चरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटले पराजित गरेको थियो । समूह चरणको खेलमा हेल्प नेपाल समूह विजेता र गण्डकी उपविजेता हुनै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेका थिए । सेमिफाइलनमा हेल्प नेपालले श्रीलंकाको आर्मी टीमलाई ३–१ र गण्डकीले एपिएफलाई सोझो सेटमा पराजित गरेका थिए । विजेता दुवै टोलीले समान पाँच लाख ५५ हजार तथा उपविजेताले दुई लाख ५५ हजार प्राप्त गरेका छन् ।
निरुता र फकर सर्वाेत्कृष्ट
प्रतियोगिताको महिलातर्फ एपिएफकी निरुता ठगुन्ना र हेल्प नेपालका पाकिस्तानी खेलाडी फकर उद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै खेलाडीले जनही २५ हजार प्राप्त गरेका छन् । विधागततर्फको स्पाइकरमा एपिएफकी सरस्वती चौधरी र हेल्प नेपालका पाकिस्तानी मजहर अली, सेटरमा एपिएफकी जस्मिता महतो र हेल्प नेपालका पाकिस्तानी मोहमद कासिफ, ब्लकरमा आर्मीकी सुनिता खड्का र गण्डकीका रामास्वामी आङ्गामुथु घोषित भए ।
सर्भरमा न्यु डायमन्डकी बालमिका आचार्य र गण्डकीका हिमाल सुनारी, लिबेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ र हेल्प नेपालका दीपक थापा तथा प्रशिक्षकमा एपिएफका महेश चौधरी र हेल्प नेपालका उत्सव खड्का घोषित भएका छन् । राउन्ड रोबिन पद्धतिमा १ माघदेखि सुरु प्रतियोगितामा महिला र पुरुष दुवै विधामा समान ६ टोली सहभागी भएका थिए ।
उपाधिमा एपिएफको ह्याट्रिक
महिलातर्फको उपाधि एपिएफले जितेको छ । चौथो संस्करणसँगै महिलातर्फ एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो । एपिएफले यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । फाइनल खेलमा एपिएफले चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । दुवै टोली राष्ट्रिय खेलाडीले भरिएका थिए । एपिएफले खेल २५–२०, २५–१८ र २५–२१ ले जितेको हो । सरस्वती चौधरी, निरुता थगुन्ना चम्किएपछि एपिएफले सहज जित पाएको थियो । प्रतिभा माली, सलिना श्रेष्ठजस्ता खेलाडी टोलीमा रहेपछि न्यु डायमन्डले कमजोर प्रदर्शन गरेको थियो ।
यसअघि एपिएफ समूह ‘ए’ र डायमन्ड समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा आफ्नो स्थान बनाएका थिए । सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेट र न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेका थिए ।
एपिएफ र आर्मी तेस्रो
पुरुषतर्फ एपिएफ र महिलातर्फ आर्मीले तेस्रो स्थान हासिल गरेका छन् । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा एपिएफले श्रीलंका टिमलाई सोझो सेटमा पराजित गर्यो । एपिएफ २५–२३, २५–२१ र २७–२५ ले विजयी भएको हो । महिलातर्फ तेस्रो स्थानका भिडन्तमा आर्मी ३–१ ले विजयी भयो । आर्मी २५–१७, १८–२५, २५–२० र २५– १९ ले विजयी भएको हो । तेस्रो हुने दुवै टोलीले समान एक लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।