अनुचित लेनदेन (मिटरब्याज) विरुद्धको उजुरीमा स्थानीय प्रशासनले छानबिन गर्न ढिलासुस्ती गर्ने र भएका सहमति कार्यान्वयनका लागि समेत आनाकानी गरेको आरोप लगाउँदै मिटरब्याजपीडितहरू आक्रामक बन्न थालेका छन् ।
सिराहाको लहान नगरपालिका– ७ का मिटरब्याजपीडित श्याम विश्वकर्माको उजुरीको विषयमा जिल्ला प्रशासन कार्यालयले दसौँपल्ट छलफल हुँदासमेत निर्णय दिन नसकेको भन्दै मिटरब्याजविरुद्धको संघर्ष समितिको अगुवाइमा शनिबार साहुकारले जालझेल गरेर आफ्नो नाममा लिएको घर खाली गराएर पीडितलाई प्रवेश गराइएको छ । लहान नगरपालिका–७ का रामबाबु महतोले जालझेल गरेर १० धुर जग्गा र दुई कोठे पक्की घर हत्याएको आरोप लगाउँदै समितिले पीडित विश्वकर्मा र उनका परिवारलाई घर प्रवेश गराएको हो ।
संघर्ष समितिका सयौंजनाको समूहले मिटरब्याजीको अत्याचार बन्द गर, जालझेल गरेर खोसिएको घरजग्गा फिर्ता गरलगायतका नारा लगाउँदै विश्वकर्माको परिवारलाई घर प्रवेश गराएको हो । मिटरब्याजविरुद्ध संघर्ष समिति लहानको आह्वानमा पीडितहरू आक्रामक भएर साहुकारविरुद्ध प्रस्तुत भएका थिए ।
पीडित विश्वकर्माले आफ्ना दिवंगत दाजु हीरालाल विश्वकर्माले १ वैशाख ०७१ मा घर व्यवहार र पसल सञ्चालनका लागि लहान– ७ का रामबाबु महतोसँग सय कडा तीन रुपैयाँ ब्याजदरले १० लाख रुपैयाँ ऋण लिएका थिए । ‘उक्त रकम लिने वेलामै दृष्टिबन्धक भन्दै महतोले लहान–१ (क)को ४४५ नम्बर कित्ताको १० धुर जग्गा आफ्नो नाममा रजिस्ट्रेसन गराइसकेका रहेछन्,’ उनले भने ‘त्यसको ६ वर्षपछि ०७७ मा ६० लाख रुपैयाँ पुग्यो, घरजग्गा खाली गर्नु भन्दै दबाब दिँदै ४ वैशाख ०७८ का दिन जबर्जस्ती घर निकाला गरे ।’
दाजुले लिएको १० लाख रुपैयाँ नतिर्दै बिरामी भएपछि आफैँले कमाएर ब्याजबापत दुईपटक गरी ११ लाख रुपैयाँ बुझाएपछि बाँकी सात लाख रुपैयाँ रहेको सुनाएको उनले बताए । ‘त्यसपछि दुवै मिर्गाैला बिग्रिएर दाजुको निधन भएपछि म आफैँले चलाएको सुनचाँदी पसलबाट कमाएर साँवाब्याज गरी १३ लाख बुझाएको थिएँ,’ उनले भने । दाजुको निधन भएपछि ०७८ वैशाखमा जग्गा आफ्नो भएकाले उक्त जग्गामा बनेको घर पनि मेरो हो भन्दै जबर्जस्ती खाली गराएर आफूहरूलाई सडकमा पुर्याएको उनको गुनासो छ ।
संघर्ष समितिका अगुवा तथा मिटरब्याजपीडितहरूले विश्वकर्मालाई खोसिएको घरमा प्रवेश गराएपछि लहान बजारमा नाराजुलुससहित परिक्रमा गर्दै स्थानीय पशुपति आदर्श माविमा कोणसभा गरेका थिए । कोणसभामा पीडितहरूले स्थानीय प्रशासनमा दिएको उजुरीको छानबिन गरी निक्र्योलसहित मौजुदा ऐन कानुनअनुसार लेनदेन टुंग्याएर खोसिएको घरजग्गा फिर्ता गर्न तदारुकता नदेखाए पीडितहरूले खोसिएको आफ्नो घरजग्गा आफैँले फिर्ता लिने चेतावनी दिए ।
मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार जिल्ला प्रशासन कार्यालयमा रहेको सहायता कक्षले छानबिनको क्रममा मिटरब्याजीलाई बोलाए पनि मन लागे आउने मन नलागे नआउने, प्रशासनमा सहमति भए पनि कानुनी उल्झन खडा गरी पीडितलाई झुलाउने गरिरहेकाले पीडितहरूले आफूबाट बद्नियतपूर्वक खोसिएको घरजग्गा फिर्ता गर्ने क्रममा श्याम विश्वकर्मा आफ्नो खोसिएको घरमा प्रवेश गरेको जानकारी दिए । ‘स्थानीय प्रशासनले मिटरब्याजीले हड्पिएको घरजग्गा फिर्ताका लागि अनुचित लेनदेनसम्बन्धी कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि नबढाए पीडितहरू खोसिएको आफ्नो जग्गा कब्जासहित घर प्रवेश अन्य ठाउँमा पनि थालिने छ,’ उनले भने ।
मनोज पासवान, संयोजक
मिटरब्याजविरुद्धको संघर्ष समिति
स्थानीय प्रशासनले मिटरब्याजीले हडपेको घरजग्गा फिर्ताका लागि अनुचित लेनदेनसम्बन्धी कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडि नबढाए पीडितहरू खोसिएको आफ्नो जग्गा कब्जासहित अन्य ठाउँमा पनि घर प्रवेश गर्न थालिनेछ ।
पीडित श्याम विश्वकर्मा भन्छन्– साहुकार महतोले १० लाखको साँवा–ब्याज भन्दै सात वर्षमै ६० लाख पुगेको भन्दै घरजग्गा हत्याए०७१ मा दाजुले घरव्यवहार र पसल सञ्चालनका लागि भनेर १० लाख रुपैयाँ लिने बेलामै दृष्टिबन्धक भन्दै साहुकार रामबाबु महतोले लहान–१ (क)को ४४५ नम्बर कित्ताको १० धुर जग्गा आफ्नो नाममा रजिस्ट्रेसन गराइसकेका रहेछन् । त्यसको ६ वर्षपछि ०७७ मा ६० लाख रुपैयाँ पुग्यो, घरजग्गा खाली गर्नु भन्दै दबाब दिँदै ४ वैशाख ०७८ का दिन जबर्जस्ती घर निकाला गरे । दुवै मिर्गाैला बिग्रिएर दाजुको निधन भएपछि म आफैँले चलाएको सुनचाँदी पसलबाट कमाएर साँवाब्याज गरी १३ लाख बुझाएको थिएँ ।