अन्तर्राष्ट्रिय फेस्टिभलमा चर्चा बटुलेको ‘ढोरपाटन’ नेपाली हलमा लाग्दै

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

राजन कठेत र सुनिर पाण्डेको निर्माण तथा निर्देशन रहेको नेपाली वृत्तचित्र ‘ढोरपाटन’ चलचित्र हलमा प्रदर्शनमा हुने भएको छ।

युरोप र एसियाका फिल्म फेस्टिभलमा ‘नो विन्टर होलिडेज्’को नामले चिनिएको यो वृत्तचित्र सिडिसी सिनेमाज्मा २७ पुसदेखि हरेक साँझ ५ बजे प्रदर्शन गरिने भएको हो।

निर्देशक कठेतले आमदर्शकको रुचिलाई ध्यानमा राखेर हलमा प्रदर्शन गर्न लागेको बताए। ‘संसारभरि प्रदर्शन गराएर सिनेमाघरमा भित्र्याउन पाउँदा खुसी लागेको छ। नेपाली दर्शकलाई यो फिल्म के कस्तो लाग्छ, हामी थाहा पाउन आतुर छौँ,’ उनले भने।

आफूहरूले पाँच वर्ष लगाएर वृत्तचित्र निर्माण गरेको निर्देशक कठेतको भनाइ छ।

जलवायु परिवर्तन र बुढेसकालमा महिलाको एक्लोपनको विषयमा आधारित ‘ढोरपाटन’ बेलायतको सेफिल्ड डकफेस्टमा वर्ल्ड प्रिमियर भएको थियो। दक्षिण कोरियाको डिएमजी डक्समा प्रिमियर यो वृत्तचित्र भारतको हिमाचल प्रदेशको धरमशालामा आयोजित धरमशाला अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि देखाइएको थियो।

त्यस्तै, कोलकाताको कोलकाता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि यसले दर्शकवृत्तबाट प्रशंसा बटुलेको थियो।

हालै काजाक्सतानमा आयोजित प्रथम अलटरनेटिभ फिल्म अवार्डमा ‘सांस्कृतिक महत्त्व बोकेको’ भनी नो विन्टर होलिडेज् (ढोरपाटन) ‘नेटिभा’ श्रेणीमा जुरीबाट पुरस्कृत भएको थियो।

यसले नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘सर्वोत्कृष्ट वृत्तचित्र’को अवार्ड पनि जितेको थियो।

सुझावित समाचार