सुदूरपश्चिममा पुनः कोरोना संक्रमण, भेरियन्ट पत्ता लगाइँदै

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ।

भारतबाट भित्रिने नागरिकको सीमानाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमुना जाँच गर्दा आठजनामा कोरोनाको संक्रमण फेला परेको जानकारी दिए।

‘संक्रमित चारको नमुना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौं पठाइएको र चार संक्रमितको नमुना आज पठाउने तयारी भइरहेको छ,’ उनले भने, ‘संक्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमुनाको थप परीक्षण गर्न जरुरी भएको  हो।’

सीमा नाकामा संक्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताए।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य संगठनले केही दिनअघि सचेत गराएको पनि साउदले बताए। स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा भने पछिल्ला तीन दिनमा प्रदेशमा तीनजना कोरोना संक्रमित फेला परेको उल्लेख गरिएको छ। 

पछिल्लो २४ घन्टामा गौरीफन्टा र गड्डाचौकी सीमानाकाबाट भित्रिने नागरिकमध्ये शंकास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा र पुस ८ गते दुईजनामा संक्रमण फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। रासस 

सुझावित समाचार