देशभर तापक्रम घट्ने क्रममा, सतर्कता अपनाउन अनुरोध

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण
देशभर तापक्रम घट्ने क्रममा, सतर्कता अपनाउन अनुरोध

फाइल तस्बिर

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरे।

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ।

‘पश्चिमी वायुको आंशिक प्रभाव छ। केही दिनलाई ठूलो मौसमी प्रणालीको प्रभाव छैन,’ मौसमविद् पुडासैनीले भने। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु–कुहिरो लागेको थियो। आज काठमाडौंको न्यूनतम तापक्रम ५.४ र अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ। तापक्रम घटेकाले काठमाडौंमा अत्यधिक चिसो बढेको छ।

दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ। सबैभन्दा कम जुम्लामा माइनस २.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ।
 

सुझावित समाचार