परीक्षा शुल्कबारे प्रश्न गर्दा दुई विद्यार्थीलाई प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले निर्घात कुटपिट गरेका घटनापश्चात् आक्रोशित विद्यार्थीहरूले बिहीबार राजविराज नगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका छन्।
उनीहरूले प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई कारबाही गर, अनावश्यक शुल्क लिन पाइँदैन जस्ता नाराबाजी गरिरहेका छन्।

राजविराज नगरपालिका-१६स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियामा मंगलबार विद्यालयले अर्ध वार्षिक परीक्षा र रजिस्ट्रेसन शुल्क मनपरी लिइरहेको विषयमा प्रश्न उठाउँदा कक्षा १० मा अध्यनरत विद्यार्थीद्वय विकासकुमार मण्डल र रोशन साहलाई प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले विद्यालयको कार्यालय भवनमै कुटेको विद्यार्थीहरूको आरोप छ।
त्यसयता उनीहरू लगातर प्रदर्शनमा रहेका छन्। विद्यार्थी कुट्न पाइँदैन र कुट्नेलाई कारबाहीको माग गर्दै जिल्लाका संयुक्त विद्यार्थी संघसमेत आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
उता दुवै पक्षबीच बुधबार जिल्ला प्रहरी कार्यालयमा छलफल भए पनि टुंगो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले बताए। उनले पीडित पक्षबाट जाहेरी आए कानुनी प्रक्रिया अगाडि बढाइने बताए।